• ७ जेठ २०८१, सोमबार

किन बिक्री भएनन् खाद्यका दुई सय खसी र च्याङ्ग्रा ?

blog

काठमाडौँ, कात्तिक २१ गते । खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी, बोका र च्याङ्ग्रा यसवर्ष पनि बिक्री भएका छैनन् ।दसैँका लागि खाद्य कम्पनीले ल्याएका दुई हजार २०१ खसी, बोका तथा च्याङ्ग्रामध्ये २०० वटा खसी र च्याङ्ग्रा बिक्री नभएका हुन् ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस वर्ष ल्याएका बोका भने सबै बिक्री भएका छन् । अहिले बिक्री नभएका खसी तथा च्याङ्ग्रालाई खाद्य कम्पनीको प्रादेशिक कार्यालय थापाथलीमा राखिएको छ । 

बिक्री नभएका खसी तथा च्याङ्ग्रालाई खाद्य कम्पनीको प्रादेशिक कार्यालय थापाथलीमा राखिएको छ । 

खसी र च्याङ्ग्रा बिक्री नहुँदा सरकारलाई दानापानीमा खर्च बढ्ने देखिएको छ । खाद्य कम्पनीका सूचना अधिकारी न्यौपानेका अनुसार गतवर्ष एक हजार ६२५ खसी, बोका र १६२ च्याङ्ग्रा बिक्री भएका थिए । 

गत वर्षको तुलनामा यसवर्ष धेरै खसी, बोका तथा च्याङ्ग्रा बिक्री भए पनि ल्याएका सबै बिक्री भने नभएका हुन् । उहाँले भन्नुभयो, “गतवर्ष उपभोक्ताको माग बढी थियो, त्यसैले यसवर्ष हामीले बढाएर खसी, बोका तथा च्याङ्ग्रा ल्याएका थियौँ, तर सबै बिक्री भएनन् ।”

बिक्री नहुनेमध्ये अधिकांश च्याङ्ग्रा छन् । खसी थोरै छन् । बोका भने सबै बिक्री भएका छन् ।  

किन भएन च्याङ्ग्रा बिक्री 

च्याङ्ग्राको मूल्य बढी परेका कारण पनि उपभोक्ताहरुले यस वर्ष च्याङ्ग्राको खरिद खासै गरेका छैनन् । तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी सुवेदी च्याङ्ग्राको बिक्री नहुनुमा विभिन्न कारण औल्याउनुभयो । 

उहाँले भन्नुभयो, “गतवर्ष च्याङ्ग्राप्रति धेरै उपभोक्ताको चासो थियो, त्यसैले यस वर्ष केही बढाएर ल्याएका थियौँ । तर सबै बिक्री भएनन् ।” यसवर्ष निजी व्यवसायीले ल्याएका च्याङ्ग्राहरु पनि सबै बिक्री हुन नसकेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “यसवर्ष निजी क्षेत्रले ल्याएका खसी र च्याङ्ग्राहरु पनि पूर्ण रुपमा बिक्री हुन सकेका छैनन् । निजी क्षेत्रका व्यवसायीले बिक्री नभएका खसी तथा च्याङ्ग्रा सरकारले किनिदिनुपर्ने बताएका छन् ।”

तिहारमा बिक्ने अपेक्षा 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री हुन बाँकी रहेका खसी र च्याङ्ग्रा तिहारसम्मा बिक्री भइसक्ने अनुमान गरेको छ । खाद्य कम्पनीका सूचना अधिकारी न्यौपानेका अनुसार तिहारसम्म बाँकी सबै खसी, च्याङ्ग्रा बिक्री गरिसक्ने लक्ष्य रहेको छ । अहिले पनि तीन–चार वटा बिक्री भइरहेका छन् । 

तिहारसम्म पनि बिक्री नभए मूल्य घटाएर पनि बिक्री गरिने उहाँको भनाइ छ ।

कम्पनी लिमिटेडका सूचना अधिकारी न्यौपानेले भन्नुभयो, “गाउँ गएका सर्वसाधारण अहिले सहर फर्किदै छन्, दसैँको मासु नै सकिएको छैन अधिकांशको, अब तिहार नजिकिँदै छ, अब बिक्री हुन्छ होला ।”

तिहारसम्म पनि बिक्री नभए मूल्य घटाएर पनि बिक्री गरिने उहाँको भनाइ छ । कम्पनी लिमिटेडले जिउँदो च्याङ्ग्राको प्रतिकेजी १ हजार १६० रुपियाँमा अहिले १० रूपियाँ छुट दिएर १ हजार १५० तोकेको छ । खसीको मूल्य प्रतिकेजी ६०० तोकिएको छ । 

न्यौपानेका अनुसार यस वर्षको चाडमा खसी, बोका र च्याङ्ग्रा खरिदका लागि ८ करोड ३६ लाख रुपियाँ बजेट छुट्याइएको थियो । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।