• १२ मंसिर २०८१, बुधबार

निःशुल्क उपचारमा समन्वय

blog

काठमाडौँ, कात्तिक १९ गते । भूकम्पका घाइतेको उपचारका लागि सरकारले खर्च बेहोर्ने तयारी गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा राहत तथा उद्धारका लागि स्वास्थ्य सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग छलफल गरेको छ । 

घाइतेको उपचारका लागि प्रदेशहरू र सङ्घीय अस्पताल पनि तयारी अवस्थामा राखिएको छ । आवश्यक जनशक्ति र औषधी पठाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विश्व स्वास्थ्य सङ्गठन, सेभ द चिल्ड्रेन, वन हर्टलगायतका सङ्घ संस्थाका पदाधिकारीसँग छलफल गर्दै घाइतेको निःशुल्क उपचार गर्ने बताउनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालगन्ज र सुर्खेतमा भएको स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री जाजरकोट तथा पश्चिम रुकुममा पठाइसकेको जानकारी दिनुभयो ।

उहाँले काठमाडौँबाट पनि आवश्यक स्वास्थ्य सामग्री पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । डा. बुढाथोकीले गम्भीर घाइतेलाई नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याई उपचार सुरु गरिसकेको जानकारी पनि दिनुभयो । शनिबार बिहानै मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, वीर, ट्रमालगायतका अस्पतालबाट ४१ जना विशेषज्ञसहितको टोली जाजरकोट र पश्चिम रुकुममा पठाइएको छ । सुर्खेत प्रादेशिक अस्पताल, भेरी अस्पताल, काठमाडौँको त्रिवि शिक्षण अस्पताल र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

आठ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । जाजरकोटका स्थानीय अस्पतालमा उपचार हुन नसकेका आठ जनालाई काठमाडौँ त्रिवि शिक्षण अस्पताल ल्याएर उपचार सुरु गरिएको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिनुभयो । आठ जनामध्ये दुई बच्चा छन् । केहीको अवस्था गम्भीर रहेकाले तिनको आइसियुमा राखेर उपचार गरिएको उहाँले बताउनुभयो ।

उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई तयारी अवस्थामा राखिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल घाइते बिरामीका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उहाँले वीर तथा ट्रमा सेन्टरमा आकस्मिक कक्ष, शल्यक्रिया कक्ष तथा आइसियुसमेत तयारी अवस्थामा राखिएको जानकारी दिँदै घाइतेको उपचारमा लाग्न निर्देशन दिनुभयो ।