• १३ मंसिर २०८१, बिहिबार

बाह्य स्रोत जुटाउँदै स्थानीय तह

blog

बुलबुले समाचारदाता

सुर्खेत, कात्तिक १८ गते । स्थानीय तहहरूको आन्तरिक आम्दानी न्यून छ । विकास बजेट पनि कम हुँदा विकास निर्माणका कामलाई अघि बढाउन समस्या हुने गरेको छ तर केही स्थानीय तहले बाह्य लगानी जुटाएर विकास निर्माणका काम अघि बढाएका छन् । 

सुर्खेतको गुर्भाकोट नगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १० करोड हाराहारीमा बाह्य लगानी जुटाएको छ । नगरपालिकाको आफ्नै वार्षिक विकास बजेट न्यून छ । पालिकाको चालु आव २०८०÷८१ को विकास बजेट ३० करोड हो । अघिल्ला वर्षमा पनि सोही बराबरको बजेट विनियोजन हुने गरेको थियो । विकास निर्माणका काम बाह्य लगानीका भरमै गर्नु परेको नगर प्रमुख हस्त पुनले बताउनुभयो । हरेक वर्ष कुनै न कुनै निकायबाट गरी गुर्भाकोट नगरपालिकाले अर्बौं बजेट जुटाएर विकासमा खर्चने गरेको छ । नगरले आवश्यकताका आधारमा उक्त बजेट परिचालन गर्दै आएको हो । बाह्य स्रोतबाट आउने सहयोगलाई भौतिक पूर्वाधार, सडक, भवन निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिमा लगानी गरिरहेको नगर प्रमुख हस्त पुनले जानकारी दिनुभयो । 

गुर्भाकोट नगरपालिकाले प्रदेश र सङ्घीय सरकार तथा गैरसरकारी संस्थासँग विकासका लागि साझेदारी गर्ने प्रस्ताव गर्दै स्रोतको जोहो गर्ने गरेको उहाँले बताउनुभयो । चालु आवमा मात्र दुई अर्ब बाह्य लगानी भित्र्याएको नगरप्रमुख पुनले बताउनुभयो । नगरपालिकाले वडा नं. १०, ११, १२, १३ र १४ सम्म जोड्ने सहायक कृषि सडक निर्माण गर्न लागेको छ । सङ्घीय सहरी विकास मन्त्रालयको २५ करोड बजेटमा सहायक कृषि सडक निर्माण गर्न लागिएको हो । यसै गरी नगरपालिकाले सघन सहरी विकास आयोजना सञ्चालनका लागि काम अघि बढाएको छ । सङ्घीय सहरी विकास मन्त्रालयकै २० करोड लगानीमा काम अघि बढाइएको हो । 

गुर्भाकोट नगरपालिकाको वडा नं. ८, १० र १२ को सिमानामा तीनमुखे पुल निर्माणको काम पनि अघि बढाइएको छ । चालु आवबाट काम सुरु गर्ने गरी तयारी थालिएको छ । तीनमुखे पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको नगरप्रमुख पुनले जानकारी दिनुभयो । स्थानीय पूर्वाधार विकास मन्त्रालयको २५ करोड लगानीमा पुल निर्माण हुने छ । यस्तै गुर्भाकोट नगरपालिकाको वडा नं. १३, १४ हुँदै चिङ्गाड र सिम्ता गाउँपालिका जोड्ने ११ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ । सङ्घीय भौतिक पूर्वाधार मन्त्रालयको ४० करोड बजेटमा सडक कालोपत्रे गरिने छ । सडक कालोपत्रेका लागि टेन्डर प्रक्रिया सुरु भएको नगरपालिकाले जानकारी दिएको छ । 

वीरेन्द्रनगर नगरपालिकाले चालु आवमा पाँच अर्ब बाह्य लगानी जुटाइसकेको छ । यो वर्ष नगरपालिकाले ठुला दुई आयोजना सञ्चालन गर्ने भएको छ । तिनमा भेरी पम्पिङ आयोजना निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको आयोजनाको पहिलो चरणको कामका लागि टेन्डर आह्वान गरिएको हो । 

दुई चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरण अन्तर्गत चार अर्ब ६५ करोड ३० लाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको नगर प्रमुख मोहनमाया ढकालले बताउनुभयो । भेरीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर ल्याउन सङ्घीय खानेपानी मन्त्रालयले विश्व बैङ्कको ऋण सहयोगमा सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लिफ्टिङ प्रविधिमार्फत उपत्यकामा खानेपानी ल्याउन लागिएको जनाइएको छ । 

पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत सङ्घ, प्रदेश र विभिन्न साझेदारी संस्थाबाट एक अर्ब लगानी सुनिश्चित भएको नगरपालिकाले जनाएको छ । त्यसमा सडक निर्माण विद्यालय भवन निर्माण, ल्यान्डफिल्ड साइट अन्तर्गतका पूर्वाधार निर्माणलगायतका काम गरिने छ । 

बाह्य लगानी ल्याएर विकासमा लगाउने गुर्भाकोट र वीरेन्द्रनगर नगरपालिका प्रतिनिधिमूलक स्थानीय तह हुन् । यीबाहेकका पालिकामा पनि बाह्य स्रोतकै सहायताले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकका पूर्वाधार बनाइएको छ । बाह्य आर्थिक स्रोत जुटाउने कसरतमा स्थानीय तह लागिपरेका छन् । आन्तरिक स्रोतसाधनकै भरमा विकास आयोजना सञ्चालन गर्न निकै चुनौती रहेको पालिका प्रमुखहरू बताउँछन् । स्थानीय तहको पुँजीगत खर्चको अवस्था पनि निराशाजनक छ । केही स्थानीय तह आफैँले बनाएको बजेट कार्यान्वयनमै असफल हुने गरेका छन् भने केहीले बाह्य लगानी जुटाएर विकास निर्माणका काम गरिरहेका छन् ।