• १२ साउन २०८१, शनिबार

भूकम्पबाट घाइतेको उपचार भेरी अस्पतालमा गरिने

blog

उपचारका लागि तयारी अवस्थामा राखिएको भेरी अस्पताल ।

सिराज खान

नेपालगन्ज, कात्तिक १८ गते । शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि भेरी अस्पतालमा आवश्यक पूर्व तयारी गरिएको छ । मध्यरात नै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल अस्पताल पुगेर घाइते उपचारको अवस्थाका तयारीको अवलोकन गर्नुभएको थियो । उहाँले भूकम्पमा परि घाइते भएकाहरूलाई नेपालगन्ज रिफर गरिएको खबर प्राप्त भएसँगै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवन जङ्ग रायमाझी, विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह, डा. राजन पाण्डे सहितको टोलीसँगै अस्पतालको निरीक्षण तथा आवश्यक तयारीका लागि निर्देशन दिनुभएको अस्पतालले  जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले घाइतेको उपचारका लागि भेरी अस्पताललाई डिकेटेड अस्पताल घोषणा गरेर सो अस्पताल लगायत सैनिक अस्पताल र प्रहरी अस्पतालमा १०५ बेड खाली राखिएको बताउनुभयो । उहाँले चिकित्सक, नर्स र मेडिसिन तयारी अवस्थामा राखिएको पनि बताउनुभयो ।

यसै गरी हेलिकप्टरबाट ल्याइने बिरामीका लागि राँझा विमानस्थलबाट अस्पताल पुर्‍याउने तयारी गरिएको र रगतको मौज्दात पनि राखिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

भूकम्पमा परि अहिले सम्ममा १२८ जनाको मृत्यु भएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।