• १२ साउन २०८१, शनिबार

६.४ रेक्टरस्केलको भूकम्प

जाजरकोट र रुकुममा २५ जनाको मृत्यु

blog

भूकम्पको कारण घर भत्किँदा रुकुम पश्चिममा एकै घरका ५ जनाको मृत्यु गएको छ ।

राजु लामिछाने

रुकुम पश्चिम, कात्तिक १८ गते ।  गए रातीको भूकम्पमा परी जाजरकोट र रुकुममा २५ जनाको मृत्यु भएको छ । 

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा २५ जनाको मृत्यु छ भने ४० बढी घाइते भएका छन् ।

यसैगरी, भूकम्पको कारण घर भत्किँदा रुकुम पश्चिममा एकै घरका ५ जनाको मृत्यु गएको छ । 

जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर ११ गोईरी सल्लेरी गाउँका स्थानीय शिला सेर्पाली र उहाँका ४ जना छोरीहरुको घर भत्किँदा मृत्यु भएको जनकल्याण मावि गोईरीका प्रधानाध्यापक रतिभान बिकले जानकारी दिनुभयो । 

उहाँका अनुसार आमा शिलासँगै सुतेका पाँच छोरीहरु मध्ये माईली छोरीको भने जीवितै उद्धार गरिएको छ । क्षतिको थप विवरण आउन भने बाँकी रहेको छ । 

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । 

भूकम्पले आठविसकोट नगरपालिका वडा नम्वर १२ मा र सानीभेरी गाउँपालिका वडा नम्वर ४ मा पनि मानवीय क्षति भएको छ । क्षतिको एकिन विवरण भने प्राप्त हुन बाँकी रहेको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताउनु भयो । जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।