• ११ मंसिर २०८१, मङ्गलबार

अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

blog

काठमाडौं, कात्तिक १७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका कारण सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।  

आयोगका प्रवक्ता भोला दाहालका अनुसार सरकारी रकम बदनियतसाथ हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेका ओम प्रकाश यादव, अजयकुमार यादव र अनिरुद्र मण्डलको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ । 

ओम प्रकाश यादवले खाए मासेको बिगो एक लाख ३५ हजार २२९ रुपियाँ, अजय कुमार यादवलाई एक लाख ३१ हजार ३६५ रुपियाँ र प्रतिवादी अनिरुद्र मण्डललाई दुई लाख ६६ हजार ५९५ रपियाँ बिगो रकमसहित जरिवाना र कैदको सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ । 

यसैगरी, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको आरोपमा उर्मिला देवीमाथि गरिएको फैसला चित्त नबुझी आयोगमा पुनरावेदन गरिएको आयोगले जनाएको छ । 

प्रतिवादी उर्मिला देवीले नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सुरु नियुक्तिको लागि पेश गरेको बिहार विद्यालय परीक्षा समिति अन्तर्गतको एसएनजी हाइ स्कुलबाट म्याट्रिक तह पास गरेको प्रमणपत्र नक्कली देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।