• १५ मंसिर २०८१, शनिबार

३७ हजार बालबालिकालाई भिटामीन ‘ए’ र जुकाको औषधि खुवाइयो

blog

भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइदै । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, कात्तिक १७ गते । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आजदेखि राष्ट्रव्यापी रुपमा बालबालिकालाई भिटामीन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन भइरहेको छ ।

दुई दिने सो अभियान अन्तर्गत कास्कीका ६ महिनादेखि पाँच वर्षसम्म झण्डै ३६ हजार ९ सय १३ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका ३२ हजार ९ सय ४३ जना बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीराज आचार्यले बताउनुभयो ।

दिउँसो २ बजेसम्ममा कास्कीका २५ प्रतिशत बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइएको भेक्टर कन्ट्रोल अधिकृत यम बरालले जानकारी दिनुभयो । कास्कीमा १ हजार ४९ जना रहेका महिला स्वयमसेवकले हरेक वडा कार्यालयको स्वास्थ्य संस्थामार्फत भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको आचार्यको भनाइ छ ।

भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि लिन छुट भएकालाई पछि घरमै गएर सेवा उपलब्ध गराउने कार्यालय प्रमुख आचार्यले बताउनुभयो । उहाँले सकेसम्म यस राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा आफ्ना बालबालिकालाई बञ्चित नगर्न समेत आग्रह गर्नुभयो ।