• ११ मंसिर २०८१, मङ्गलबार

शिक्षक अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थी नेपालगन्जतर्फ

blog

टिकट पाएपछि नेपालगन्ज उड्नका लागि सिमकोट विमानस्थलमा समिट एयरकाे जहाज चढ्ने तयारीमा परीक्षार्थीहरु । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, कात्तिक १७ गते ।
शिक्षक अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थीले हवाई टिकट पाएका छन् । शुक्रबार समिट एयर र नेपाल एयरलाइन्सको उडानमार्फत उनीहरु परीक्षा दिन नेपालगन्जतर्फ लागेका हुन् ।

शिक्षक अनुमतिपत्रको परीक्षा केन्द्र सुर्खेत परेका खार्पुनाथ गाउँपालिका– ३ को रायाँ गाउँका नरेन्द्र रावलले हवाई टिकट पाएर नेपालगन्ज झरेपछि परीक्षामा सहभागिता सुनिश्चित भएको बताउनुभयो । उहाँले छैटाैं दिनमा टिकट पाउनुभएको हो ।

कात्तिक १८ गते शनिबार शिक्षक अनुपतिपत्रको परीक्षा हुँदैछ । समिट एयर सिमकोटका प्रमुख गोविन्द लामाले १५ जना परिक्षार्थी सिमकोटबाट नेपालगन्ज उड्न पाएको बताउनुभयो । परीक्षालाई प्राथमिकतामा राखेर परीक्षार्थी नेपालगन्ज पठाउने कार्य भएको उहाँको भनाइ छ ।

त्यसैगरी, नेपाल एयरलाइन्सको उडानमार्फत १२ जना परीक्षार्थी नेपालगन्ज झारेका छन् । समिट र नेपाल एयरलाइन्सका दुई वटा उडानमार्फत २७ जना शिक्षक अनुमतिपत्रको परीक्षा दिन नेपालगन्ज पुगेका हुन् ।

हुम्लाबाट बाँके, बर्दिया र सुर्खेत परीक्षा केन्द्रमा परीक्षार्थी सहभागी हुँदैछन् । त्यस्तै अन्य सात जना परीक्षार्थीले अझै टिकन पाउन सकेका छैनन् । उहाँहरु सातै जनालाई शनिबार पठाउने तयारी भइरहेको छ ।

हुम्लाबाट उडान कम हुँदा यात्रुलाई मर्का पर्दै आएको छ । साथै बिरामीलाई समेत उपचार गर्न जानका लागि  सहज रुपमा टिकट पाउन कठिन हुने गरेको छ ।