• ७ जेठ २०८१, सोमबार

चाडपर्वको समयमा रगत पाउन मुस्किल

blog

नियमित डायलासिस गराउने व्यक्तिहरुले दशैँअघि डायलासिस गराएर अहिले सबैको एकैचोटी डायलासिस गराउन आउँदा पनि रगतको माग बढी 

काठमाडौं, कात्तिक १७ गते । चाडपर्वकै समय काठमाडौं उपत्यका लगायत देशैभर रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् । दशैँँ, तिहारजस्ता चाडपर्वमा रक्तदान कार्यक्रम नहुनु र नेपाल रेडक्रस सोसाइटीले व्यवस्थापन प्रभावकारी नबनाउदाँ रगतको अभाव भएको पाइएको हो । 

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैँकमा रगतको अभाव  छ । बैंकका सचिव परशुराम पाण्डेयका अनुसार चाडबाडमा रक्तदान लगायतका कार्यक्रम नहुँदा रगत अभाव भएको बताउँदै मागअनुसारको रगत उपलब्ध गराउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दशैँ, तिहारजस्ता चाडपर्वका कारण रक्तदानका कार्यक्रमहरु नभएकाले देशभर नै रगतको अभाव चुलिएको छ ।”

अहिले दैनिक ३० देखि ३५ पिन्ट रगत उपलब्ध गराउँदै आएका उहाँको भनाइ छ । तर माग भने दैनिक एक सय ५० पिन्टसम्म हुने गरेको छ । उहाँले भन्नुभयो, “रगत लिन भक्तपुर आउनेलाई एक पिन्ट मात्रै भए पनि दिएका छौँ रित्तो फर्किनुपरेको छैन ।” अहिले डेंगुको प्रकोप भइरहेकाले पनि रगत सङ्कलनमा समस्या भइरहेको पाण्डेयले बताउनुभयो ।

धेरै मात्रामा ताजा रगतको आवश्यकता पर्ने हुँदा देशमा अहिले डेँगुका बिरामीहरु बढेकाले रगत सङ्कलन गर्न समस्या भइरहेको उहाँको भनाइ छ । आगामी शनिबारसम्म देशभर नै रगतको अभाव देखापर्ने उहाँ बताउनुहुन्छ । त्यसपछि भने क्रमशः रगत सङ्कलन बढ्दै जाने अपेक्षा रहेको उहाँले सुनाउनुभयो । 

नियमित डायलासिस गराउने व्यक्तिहरुले दशैँअघि डायलासिस गराएर अहिले सबैको एकैचोटी डायलासिस गराउन आउँदा पनि रगतको माग बढी भएको उहाँको भनाइ छ । अहिले रक्तदाताहरु खेतीपाती गर्नका लागि व्यस्त भएका कारण पनि रगत सङ्कलन हुन नसकेको उहाँ बताउनुहुन्छ ।रगत अभाव भएकाले रक्तदान गर्न सर्वसाधारणलाई उहाँको आग्रह छ । कीर्तिमानी रक्तदाता प्रेमसागर कर्माचार्यले व्यवस्थापनको अभावका कारण रगतको अभाव भएको बताउनुभयो ।

१७६ पटक रक्तदान गर्नुभएका कर्माचार्यले भन्नुभयो, “ व्यवस्थापनको समस्या भएका कारण रगतको अभाव भएको हो । सधैंभरि आउने चाडपर्वलाई देखाएर रगतको अभाव भएको भन्नु मूर्खता हो । ”

नयाँ रक्तदातालाई रक्तदानतर्फ आकर्षित गर्नुपर्नेमा सरकारले यसतर्फ ध्यान दिन नसकेको उहाँको आरोप छ । पुराना रक्तदाताले आग्रह गरेकै आधारमा मात्र नयाँ रक्तदाताले रक्तदान गरिरहेकाले जनचेतनात्मक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । 

रगत सङ्कलनका लागि लामाे योजना बनाएर नै काम गर्नुपर्ने आवश्यकता रहेको उहाँको बुझाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।