• १ पुस २०८२, मङ्गलबार

हवाइटिकटका लागि प्रशासनमा डेलिगेशन

blog

टिकट नपाएपछि प्रशासन कार्यालयमा डेलिगेशन पुगेका परीक्षार्थी । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक १६ गते । शिक्षक अनुमतिपत्रको परीक्षा दिने हुम्लाका परीक्षार्थीहरु हवाइटिकट नपाएपछि जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन गएका छन् । कात्तिक १८ गते शनिबार हुन गइरहेको परीक्षा आउन दुई दिन बाँकी रहँदा पनि टिकट नपाएर परीक्षा छुट्ने देखेर टिकट ब्यवस्थाका लागि डेलिगेशन गएका हुन् ।  

शिक्षक अनुमतिपत्रको परीक्षा केन्द्र सुर्खेत परेका खार्पुनाथ गाउँपालिका –३ को रायाँ गाउँका नरेन्द्र रावतले पाँच दिन अघिबाट सुर्खेत जान खोजेको भए पनि टिकट नपाएका कारण परीक्षार्थीहरु मिलेर जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन जानु परेको बताउनुभयो । उहाँले परीक्षा आउन दुई दिन मात्र बाँकी रहेको र टिकट पाउने कुनै सम्भावना नदेखिएको कारण टिकटको ब्यवस्थाका लागि प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलसमक्ष जानुपरेको बताउनुभयो । 

अर्का परीक्षार्थी खड्कबहादुर शाहीले सात दिन अघिदेखि नेपालगञ्जमा परेको परीक्षा केन्द्रमा जान खोजे पनि टिकट नपाएको कारण जिल्लामै रोकिनुपरेको र परीक्षामा सहभागिता जनाउन नपाउने सम्भावना बढी देखिएपछि टिकट नपाएर सिमकोटमै रोकिएका परीक्षार्थीहरु मिलेर डेलिगेशन गएको बताउनुभयो । 

हुम्लाबाट उक्त परीक्षामा बाँके, बर्दिया र सुर्खेत केन्द्रको परीक्षा सामेल हुन लाग्नुभएका २७ जना परीक्षार्थी परीक्षाको प्रबेशपत्रसहित जिल्ला प्रशासन कार्यालयमा पुग्नुभएको थियो । प्रजिअ पौडेलले शुक्रबार जुन एयरलाइन्सको जहाज आए पनि पहिलो प्राथमिकता परीक्षार्थीले दिने सहमति एयरलाईन्ससँग भए पनि डेलिगेशनमा आउनुभएको परीक्षार्थी फिर्ता भएको बताउनुभयो । 

शुक्रबार समिट र नेपाल एयरलाइन्सले उडान भर्ने तालिका रहेको र यी दुबै एयरलाइन्सहरुले  परीक्षार्थी मात्र पठाउने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो । उडान सङ्ख्या कम हुन थालेपछि यात्रुहरु मर्कामा पर्दै आउनुभएको छ ।