• १ पुस २०८२, मङ्गलबार

कांग्रेस जुम्लाबाट प्रतिनिधिसभा प्रत्यक्षमा चार जनाको नाम सिफारिस

blog

नेत्र शाही
जुम्ला, पुस १ गते ।
नेपाली कांग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने प्रत्यक्ष निर्वाचनका लागि प्रतिनिधिसभा उम्मेदवारका लागि चार जना नेताको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेस जुम्लाका पार्टी सदस्य महेन्द्र कार्कीका अनुसार आगामी फागुन २१ गते हुने प्रत्यक्ष निर्वाचनका लागि सिफारिस भएका नेताहरुमा जिल्ला सभापति कर्णबहादुर शाही, केन्द्रीय सदस्य कान्तिका सेजुवाल, नेता पूर्णप्रसाद आचार्य र खड्कबहादुर सेजुवाल रहनुभएको छ । 

जिल्ला कार्यसमितिले प्रत्यक्षसँगै समानुपातिक तथा राष्ट्रिय सभातर्फका आकाङ्क्षीहरूको पनि नाम सिफारिस गरेको हो ।

पार्टी सदस्य काकीका अनुसार समानुपातिकतर्फ भने १४ जनाको नाम सिफारिस गरिएको छ । उहाँका अनुसार पूर्वमन्त्री दिनबन्धु श्रेष्ठ, धनबहादुर बस्नेत, गोविन्द शाही, पुरीचन्द्र देवकोटा, लक्ष्मीप्रसाद आचार्य, परेक्लाल घर्ती, गोरखबहादुर सुनार, माया नेपाली, नेत्रकला शाही, कर्णजंग हमाल, नवीना केसी बडुवाल, जयलक्ष्मी आचार्य, लालबहादुर जिसी र रज्जब अलिमनिहारको नाम सिफारिस गरिएको छ ।

यसैगरी, राष्ट्रियसभा तर्फ नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही, पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया, भीमनिधि हमाल र सुमन बुढा बस्नेतको नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेस जुम्लाका अनुसार पार्टीको आन्तरिक छलफल तथा मापदण्डअनुसार उम्मेदवारहरूको नाम तय गरिएको जिल्ला नेता कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सिफारिस सूची केन्द्रमा पठाइसकिएको र उम्मेदवारको अन्तिम टुङ्गो भने पार्टीको केन्द्रीय तहबाट लाग्नेछ ।