• ३० वैशाख २०८१, आइतबार

कुरुवा घरले सुत्केरीलाई सहज

blog

रुकुमपूर्व समाचारदाता

रुकुमपूर्व, कात्तिक १६ गते ।  भुमे गाउँपालिकाका पाँचवटा स्वास्थ्य चौकीमा कुरुवा भान्साघर स्थापना गरेपछि सुत्केरीको सेवा स्याहार गर्न सहज भएको छ । स्वास्थ्य चौकीमा सुत्केरीको हेरचाहका लागि सुत्केरीघर स्थापना गरेपछि सुत्केरी महिलाले परिवार र आफन्तको सहयोग पाएका छन् ।  

सुत्केरी कुरुवा भान्साघरमा व्यथा लाग्नुअघि नै स्वास्थ्य चौकीमा जाँच गर्न जाँदा समस्या देखिए वा स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने अवस्थाका गर्भवती बस्ने गरेका छन् । सुत्केरी भइसकेपछि केही दिन स्वास्थ्य चौकीमै राख्नुपर्ने सुत्केरीलाई उक्त घरले सुविधा मिलेको छ । 

विगतमा सुत्केरी कुरुवा भान्साघर नहुँदा सुत्केरीलाई समस्या हुने गरेको थियो । हाल स्वास्थ्य चौकीमा सुत्केरी कुरुवा भान्साघर निर्माण गरी सञ्चालनमा ल्याएपछि सुत्केरी स्वास्थ्य सेवा तथा अन्य सेवा लिन सहज भएको गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सञ्जीव खड्काले बताउनुभयो। 

भुमे–२ को काँक्री स्वास्थ्य चौकी, वडा नम्बर ३, सीमा स्वास्थ्य चौकी, वडा नम्बर ४, काँडा स्वास्थ्य चौकी, वडा नम्बर ६, महत स्वास्थ्य चौकी र वडा नम्बर ९, चुनबाङ स्वास्थ्य चौकीमा सुत्केरी कुरुवा भान्साघरको सेवा सञ्चालन गरिएको छ । 

स्वास्थ्य चौकीका सहसंयोजक खड्का अनुसार काँडा, सीमा र महत स्वास्थ्य चौकीमा गाउँपालिका र एचडिसी नेपालसँगको सहकार्यमा भान्साघर निर्माण गरिएको छ । स्वास्थ्य चौकीमा सुत्केरी हुँदा आमा र शिशुको स्वास्थ्य अवस्थामा सुधार हुने भएकाले स्वास्थ्य चौकीबाट टाढा भएका सेवाग्राहीलाई लक्षित गरी सुत्केरी कुरुवा भान्साघरको व्यवस्था गरिएको खड्काले जानकारी दिनुभयो ।