• ३० वैशाख २०८१, आइतबार

फूल खेतीमा रमाउँदै चर्तीमगर

blog

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक १६ गते  । नेपालगन्ज उपमहानगरपालिका–२० की महिला उद्यमी बिन्दु चर्तीमगरले व्यावसायिक रूपमा फूल खेती गर्न थालेको पाँच वर्ष पुग्यो । विगत पाँच वर्षदेखि चर्तीमगर फूल खेतीमा रमाइरहनुभएको छ । 

अरूले भन्दा फरक केही काम गर्नु पर्छ भन्ने मान्यताका साथ आफू फूल खेतीमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो सानैदेखिको रहर थियो, फूल खेतीतर्फ मेरो ध्यान गयो र आकर्षण बढ्यो । फूल खेतीका बारेमा सामान्य कुरा बुझेँ र जिल्लामा फूलको माग पनि रहेछ ।” फूल व्यवसाय सुरु गर्दा कम लगानीले पनि पुग्ने र बजार पनि निकै राम्रो भएकाले फूल व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । फूल खेतीबाट आम्दानी पनि राम्रै भएकाले आफू निरन्तर फूल खेतीमा लागेको उहाँको भनाइ छ । 

अन्य मौसममा भन्दा विशेष गरी चाडपर्वमा फूलको माग बढी हुने र त्यसमा पनि तिहारमा त झन् फूलको मागलाई धान्नै नसकिने उहाँले बताउनुभयो । चाडपर्वको मौसम, त्यसमा पनि विशेष गरेर तिहारका बेला माला बनाउनका लागि फूलको अत्यधिक माग हुने उहाँले बताउनुभयो । 

मौसमीबाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठीलगायतका कार्यक्रममा फूलको प्रयोग हुने गरेको चर्तीमगर बताउनुहुन्छ ।

चर्तीमगरले पाँच वर्षअघि १० कट्ठा जमिनबाट सुरु गरेको फूल खेती अहिले दुई बिघा क्षेत्रफल जग्गामा विभिन्न जातका फूल लगाउनुभएको छ । सयपत्री अन्तर्गत टेनिसबल र कलकत्ते त्यसै गरी ग्ल्याडोलस जातका फूल लगाएको उहाँले बताउनुभयो । बजारमा धेरै सयपत्रीकै माग रहेको उहाँले बताउनुभयो ।

स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई पूर्ण रूपमा बन्देज लगाउनुपर्ने उहाँको भनाइ छ । नेपाली किसानले उत्पादन गरेका स्वदेशी फूललाई प्रोत्साहन गर्दै सम्बन्धित निकायले भारतबाट आयातित गरिने प्लास्टिकका फूल तथा मालालाई पूर्ण रूपमा बन्देज गर्नुपर्ने उहाँको माग छ । 

मौसमी मात्र नभएर नेपाली किसानले बेमौसमी फूल खेती गर्न सके भारतबाट आयात गरिने फूललाई विस्थापित गर्न सकिने उहाँले बताउनुभयो । फूल किसानलाई सरकारले आवश्यक उपकरण र प्रविधिको व्यवस्थापन गरिदिए बेमौसमी रूपमा पनि फूल उत्पादन गर्न सक्ने र भारतबाट आउने फूललाई विस्थापित गर्न सकिने उहाँको दाबी छ । 

चर्तीमगरले उत्पादन गरेका फूल तथा माला जिल्लामा मात्र खपत नभएर लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशसम्म निर्यात हुने गरेको छ । उहाँको फूल व्यवसायमा दुई जनाले नियमित रोजगारी पाएका छन् भने फूल लगाउँदा, टिप्दा तथा माला बनाउँदा ३०–३५ जनासम्मलाई रोजगारी दिइने गरेको उहाँले बताउनुभयो ।