हरिप्रसाद कोइराला
उर्लाबारी, कात्तिक १५ गते । मोरङको पथरीमा जारी पीएसपीएल क्रिकेट लिग सिजन फोर अन्तर्गत बुधबार भएको खेलमा गोर्खा लिजेन्ट र वीरेन्द्रनगर स्टिल टाइगर विजयी भएका छन् ।
बुधबार भएको पहिलो खेलमा गोर्खा लिजेन्टले रोयल किङ्गलाई १० विकेटले हरायो भने क्लासिक एलेभेन हसन्दहलाई वीरेन्द्रनगर स्टिल टाइगरले १० रनले हरायो । पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको रोयल किङ्गले १४ ओभर २ बल खेल्दै ६३ रनको सामान्य स्कोर बनाएको थियो ।
रोयल किङ्गका लागि एन्जल राईले १३ रन बाहेकका अरू कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् । गोर्खा लिजेन्टका आकाश पाइम, ज्ञानेन्द्र श्रेष्ठ र फणीन्द्र पौडेलले समान २–२ विकेट लिनुभयो ।
६४ रनको जबाफी ब्याटिङ गरेको गोर्खा लिजेन्टका राज पालुङ्गवा र योगेश श्रेष्ठले ५८ रनको साझेदारी गर्दै टिमलाई १० विकेटले जिताउनुभयो । राजले व्यक्तिगत ३६ रन र योगेशले २२ रनको महत्त्वपूर्ण योगदान गर्नुभयो । पहिलो खेलको म्यान अफ दि म्याच रमेश राउत र सर्वाधिक छक्काको उपाधि राज पालुङ्गवाले प्राप्त गर्नुभयो । रमेश र राज गोर्खा लिजेन्टका खेलाडी हुनुहुन्छ ।
यसैगरी बुधबार भएको दोस्रो खेलमा क्लासिक इलेभेन हसन्दहलाई १० रनले हराउँदै वीरेन्द्र स्टिल टाइगर विजयी भयो । टस जितेर पहिले ब्याटिङ रोजेको वीरेन्द्रनगरले निर्धारित २० ओभर खेल्दै ११२ रनको सामान्य लक्ष्य दिएको थियो । वीरेन्द्रनगर स्टिल टाइगरका लागि रेवत थक्सुले ४९ रनको महत्त्वपूर्ण योगदान गर्नुभयो ।
त्यस्तै, आकाश खत्रीले २१ रन जोड्नुभयो । क्लासिक एलेभेन हसन्दहका अनुप श्रेष्ठले ३ विकेट र सञ्जय मुर्मुले २ विकेट लिनुभयो । ११३ रनको लक्ष्य पछ्याएको क्लासिक एलेभेन हसन्दहका खेलाडी खासै चल्न सकेनन् । क्लासिकका सन्जय मुर्मुले २१ रन, निदित राईले २० रन, अनुप श्रेष्ठले १८ रन बाहेक कुनै खेलाडी टिक्न सकेनन् ।
वीरेन्द्रनगरका नेशनल दङ्गालले क्लासिकका ३ महत्त्वपूर्ण खेलाडीको विकेट लिनुभयो । दोस्रो खेलमा रेवत थक्सुले म्यान अफ द म्याच र सर्वाधिक छक्काको अवार्ड प्राप्त गर्नुभयो । बिहीबार पहिलो आइतबारे अस्त्र र बुद्ध युनाइटेडबीच र दोस्रो खेल सात बाघ र गोर्खा लिजेन्टबिच हुनेछ ।