भक्तिविलास पोखरेल
गाईघाट, असार ४ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई युवक-युवती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार स्थानीय अन्दाजी १४ वर्षीया मन्जु राई र अन्दाजी २८ वर्षीय रविन्द्र राईको शव फेला परेको हो । मन्जुको शव बाटो छेउमा लडिरहेको अवस्थामा भेटिएको थियो भने रविन्द्रको झुण्डिएको अवस्थामा भेटिएको हो ।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बविन राईका अनुसार अहिले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ । घटना के कति कारणले भयो भन्ने खुल्न नसकेको उहाँको भनाइ छ ।
मृतक मन्जु स्थानीय चौदण्डीगढी–२ स्थित सिंहदेवी माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेको र रविन्द्र केही दिन अघि मात्र काठमाडौँबाट घर आएको बताइएको छ । मन्जु र रविन्द्र छिमेकी हुन् ।
स्थानीयले बुधबार बिहानै बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरीले खोजतलास गर्दा दुई सय मिटर नजिक रविन्द्रको शव झुण्डिएको अवस्थामा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी केदारमान दोङले दुई जनाको शव फेला परेको र इलाका प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गरी शव उठाउनका लागि कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक दोङका अनुसार प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।