• ६ पुस २०८१, शनिबार

घर घरमा मन्द विष

blog

नेपाली बालबालिका सुरक्षित खेलौना खेल्ने अधिकारबाट वञ्चित मात्र छैनन् उनीहरूमा अनेक खालका हानिकारक तत्वको असर पनि परिरहेको छ । बालबालिकाकै हकहित संरक्षण गर्नका लागि गठन भएका मन्त्रालय, विभाग, आयोग र आयोजनालाई बालबालिकाले खेल्ने खेलौना वा खाने पूरक आहारामा पाइने घातक रसायनका बारेमा कुनै चासो नै छैन । साथै यससम्बन्धी प्राविधिक जनशक्ति एवं प्रयोगशाला जस्ता आवश्यक पूर्वाधारको त कमी नै छ ।

नेपाली बजारमा खेलौनाको व्यापार हरेक वर्ष फस्टाउँदो छ । नेपाली बजारमा पाइने प्रायः जसो खेलौना आयातित छन् । नेपालमा चीन, भारत, मलेसिया, थाइल्यान्डलगायत युरोपेली र अमेरिकी क्षेत्रका मुलुकबाट खेलौना आयात गरिने देखिन्छ तर विडम्बना भन्नु पर्छ कस्तो खालको खेलौना आयात भइरहेको छ त्यतामा न त व्यापारीको ध्यान गएको देखिन्छ न त सरकारी निकायको नै ।

उपहारस्वरूप वा आमाबुवाले किनेर दिने रङ्गीचङ्गी खेलौना, त्यसमा पनि प्लास्टिकका खेलौनामा के हुन्छ भन्ने नजानिकनै आदानप्रदान र प्रयोगमा व्यापकता छाएको छ । बजारमा पाइने कुनै पनि खेलौनामा त्यसमा प्रयोग गरिएको रसायनका बारेमा लेखिएको वा हानिकारक तìवका बारेमा उल्लेख गरिएको बिरलै भेटिन्छ ।

उठाउन खोजेको विषयवस्तु सुन्दा सानो वा साधारण लागे पनि यो कुरा निकै गम्भीर छ, विशेष गरी बालबालिकाको स्वास्थ्य र विकासमा परिरहेको असरलाई बेवास्ता गरिन सकिँदैन । विश्वव्यापी रूपमा भइरहेको अध्ययनका नतिजालाई मान्ने हो भने विश्व बजारमा विशेष गरी अल्पविकसित मुलुकमा उत्पादन, आयात, बिक्री वितरण तथा उपयोग हुने रङ्गीचङ्गी खेलौनामा स्वास्थ्यलाई निकै गम्भीर असर गर्ने विभिन्न रसायन पाइएका छन् । यसबाट निम्तिने शारीरिक तथा मानसिक समस्याप्रति सरकार र सबै अभिभावक, स्कुल प्रशासन सचेत हुनु पर्दछ । कतै तपाईंको बच्चाको हात र मुखमा पर्ने खेलौना यस्तै विषालु तत्वलेयुक्त त छैनन् ?

खेलौनामा घातक रसायन 

नेपाली बजारमा पाइने विभिन्न खेलौनामा जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रले विभिन्न समयमा गरेको अध्ययनका नतिजाले के देखाउँछ भने नेपालमा आयात र उत्पादन हुने ५४ प्रतिशत खेलौनामा अत्यन्त घातक रसायन लेड, मर्करी, क्रोमियम, क्याडमियम र ब्रोमिन पाइएको छ ।  

नेपालमा पहिलो पटक सन् २०१३ मा जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रले बालबालिकाले घर, पार्क तथा स्कुल आदिमा प्रयोग गरिएका प्लास्टिक, काठ, धातु, रबर, कागज र कपडा आदिबाट बनाइएका सय थान खेलौनामा अध्ययन गर्दा ५४ वटा नमुनामा हानिकारक रसायन फेला पारेको थियो । 

यति मात्र होइन केन्द्रद्वारा सन् २०१५ मा गरिएको अर्को अध्ययनबाट नेपाली बजारमा पाइने खेलौनामा ओक्टा विडिई र डेका विडिई जस्ता विश्वमा प्रतिबन्धित रसायन अत्यधिक मात्रामा पाइएको थियो । केन्द्रले सन् २०१८ मा नेपाली बजारमा पाइने विभिन्न खाले खेलौनामा पुनः एक पटक अध्ययन गर्दा ७१ प्रतिशत खेलौनामा कम्तीमा कुनै एक घातक गह्रौँ धातु जस्तै लेड, क्याडमियम, ब्रोमिन, क्रोमियम फेला पारेको थियो । पाँच खेलौनाका नमुनामा त थालेट्स नामको घातक प्लास्टिक रसायन पाइयो । थालेट्सले मानव शरीरमा हर्मोन उत्पादन ग्रन्थीको कार्यमा अवरोध पु¥याउने गर्दछ । 

नरम खाले प्लास्टिकका खेलौनामा थालेट्स अत्यधिक मात्रामा पाउनु एकदमै दुःखद पक्ष हो । नेपाली स्कुले बालबालिकाले सधैँजसो प्रयोग गर्ने र बेलाबेलामा हातले खेलाउने इरेजरमा समेत थालेट्सको मात्रा देखिनु विडम्बनापूर्ण छ । यस बारेमा सरकारी निकायहरूले कडा र बोधगम्य खेलौनाको मापदण्ड बनाई प्रभावकारी कार्यान्वयन र अनुगमन गरी खेलौना उत्पादक तथा व्यवसायीलाई तोकेको बाध्यकारी मापदण्डको प्रभावकारी कार्यान्वयन सुनिश्चित गराइनु पर्दछ । 

विगतमा विभिन्न अध्ययनको नतिजा सार्वजनिक भएपछि ध्यानाकर्षित भई तत्कालीन वातावरण मन्त्रालयले २०७४ साल माघमा खेलौनासम्बन्धी पहिलो मापदण्ड बनायो तर व्यापारीको दबाब र मापदण्ड बनाउँदा बखतको सानो प्राविधिक त्रुटिका कारण उक्त मापदण्ड कार्यान्वयनमा आउन सकेन । नेपालले बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई ३३ वर्ष पहिले अनुमोदन गरेको भए पनि नेपाली बालबालिका सुरक्षित खेलौना खेल्न पाउनबाट वञ्चित छन् । 

नेपालमा बालबालिकाले खेल्ने खेलौना र अन्य वस्तुमा भएका हानिकारक रसायनका बारेमा पूर्ण जानकारी लेबलिङका माध्यमबाट जनाइनुपर्ने हुन्छ । हाल बजारमा उपलब्ध धेरैजसो खेलौनामा लेबलिङ गरिएको देखिँदैन र यसबारेमा कसैले वास्ता गरेको समेत छैन । 

घातक रसायन लेडको अवस्था

जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रले २०७८ सालमा गरेको इनामेल पेन्ट्समा लेडको मापदण्डको परिपालनासम्बन्धी अध्ययनबाट छ वर्षभन्दा बढी समय भइसक्दा पनि मापदण्डको पालना नभएको देखियो । अध्ययन गर्दा रङका कुल ६२ नमुनामध्ये ३० वटामा लेडको मात्रा तोकिएको मानक ९० पिपिएमभन्दा बढी लेड पाइनुले नियम परिपालनाको कमजोर अवस्था देखाउँछ । 

कुनै रङमा त २२ हजार ८५० पिपिएमसम्म लेड पाइनु हदैसम्मको लापरबाही हो । नेपाल गुणस्तर चिह्न प्राप्त पेन्टहरूमा समेत सबैले लेडको मानक सीमाभित्र रहेर काम नगरेको अध्ययनले देखाउँछ । नेपालमा रङ उत्पादन गर्ने बहुर्राष्ट्रिय कम्पनीसमेत दोहोरो मापदण्डमा रङ उत्पादन गरिरहेका छन् । 

यसबाट हामी के भन्न सक्छौँ भने घर घरमा छिरेको लेडयुक्त रङले बालबालिकालाई असर गरिरहेको छ । यसरी नेपाली बालबालिका दूषित खाद्य पदार्थ र खेलौनाबाट मात्रै होइन दैनिक रूपमा  घातक रङबाट समेत प्रभावित भइरहेका छन् । जसको स्रोत हुन्ः रङ, कस्मेटिक, स्कुलका स्टेसनरी र डेस्क बेन्च, फर्निचर आदि । 

जनस्वास्थ्यमा पर्ने असर

रङ्गीचङ्गी खेलौनामा रसायनको प्रयोगले जनस्वास्थ्यमा पर्ने असरको कुरा गर्दा खेलौनामा हुन सक्ने गह्रौँ धातुहरू स्वास्थ्य तथा वातावरणका हिसाबले हितकारी छैनन् । अझ यस्ता रसायनले विशेष गरी बालबालिकाको स्वास्थ्यमा बढी असर गर्दछन् । बालबालिकाले हरेक कुरा चलाउन खोज्ने, जे पनि मुखमा हाल्ने भएकाले उनीहरू बढी जोखिममा हुन्छन् । खेलौनामा प्रयोग भएका रसायन र धातु खेलौना टोक्दा तथा धुलो, छाला, श्वासप्रश्वास, खाना र पानी आदि माध्यमद्वारा शरीरमा प्रवेश गर्दछ । 


नीतिगत एवं संस्थागत संरचना 

नेपाल सरकारले बालबालिकाले स्वस्थ रहन पाउने तथा उनीहरूको शारीरिक, मानसिक विकासका लागि खेलकुद र मनोरञ्जनको अधिकारको प्रत्याभूति गर्नमा सरकारको प्रतिबद्धता रहेको छ । बालबालिका देशका कर्णधार हुन् पनि भनिन्छ । बेलाबेलामा अनेक खालका बाल अधिकार र शिक्षाको कुरा पनि उठिरहेकै हुन्छ ।

नेपाल सरकारले बाल अधिकार संरक्षणको कामलाई नीतिगत, कानुनी, र संरचनागत हिसाबले नै उच्च प्राथमिकतामा राखी बालबालिकासम्बन्धी विभिन्न १६ वटा अन्तर्राष्ट्रिय सन्धि÷सम्झौता गरेको छ, तिनको कार्यान्वयनको तहको कुरा बेग्लै छ ।

तर बालबालिकाको स्वास्थ्य र विकाससँग प्रत्यक्ष जोडिएका तथा खेलौना, इरेजर, पौष्टिक आहार आदिमा गुणस्तर न्यून नै छ । बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता विषयमा बहस नहुने पनि होइन तर घातक रसायन र धातुले बालबालिकाको स्वास्थ्यमा पार्न सक्ने असर र तिनको स्रोतका बारेमा गम्भीर भएर कदम चालिएको देखिँदैन ।

निजामती कर्मचारीका शिशुका लागि सिंहदरबारभित्र सञ्चालित दिवा शिशु स्याहार केन्द्र सञ्चालन कार्यविधि–२०७१ को एउटा प्रमुख उद्देश्य भनेको कार्यालय समयमा आमाबुवाबाट हेरचाह एवं रेखदेख पाउन नसक्ने निजामती कर्मचारीका शिशुको सहज वातावरणमा हुर्कन पाउने अधिकार सुनिश्चित गर्दै उनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासमा सहयोग पु¥याउने रहेको छ तर त्यहाँ प्रयोग भइरहेका खाद्यवस्तु र खेलौना शिशुका लागि कत्तिको सुरक्षित छन्, कसैले विचार गरेको छ ?

यसमा खेल्ने स्थान, खेल्ने सामग्री आदिको व्यवस्थापन गर्नेदेखि भित्तामा लगाइने रङ, उत्पादिन जैविक एवं अजैविक फोहोरको उचित व्यवस्थापन, चोटपटक नलाग्ने तथा सकारात्मक मानसिक र शारीरिक विकासमा सहयोग पुग्ने खालका खेलौनाको व्यवस्थापन कसरी भइरहेको छ ? सिंहदरबारमा रेखदेख र सञ्चालनमा रहेको उक्त शिशु स्याहार केन्द्रमा रहेका खेलौनाको गुणस्तरताको जानकारी छैन भने अन्यत्र पाइने खेलौनाको अवस्था कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।

निष्कर्ष

नेपाल बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्षधर राष्ट्र बनेको ३३ वर्षभन्दा बढी भइसक्दा पनि नेपाली बालबालिकाले खेल्ने खेलौना र प्रयोग गर्ने स्कुले स्टेसनरीमा बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा निकै असर पु¥याउने विभिन्न घातक रसायन र धातु प्रचुर मात्रामा हुनु तितो सत्य हो । नेपालमा घातक खेलौना र स्टेसनरी उत्पादन, आयात, बिक्रीवितरण आजको दिनसम्म पनि निर्बाध छ ।

पुनश्चः नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा विश्वविद्यालय र निजी अनुसन्धान केन्द्रबाट विराटनगर, वीरगन्ज, काठमाडौँ, ललितपुर, भक्तपुरमा गरी चार–चार पटक गरिएको अध्ययनले करिब ६५ प्रतिशत नेपाली बालबालिकाको रगतमा शारीरिक, मानसिक र बौद्धिक विकासमा निकै नकारात्मक असर पु¥याउने घातक धातु लेड पाइएको हुनाले यो समस्याको समाधान गर्न, गराउन सबैतिरबाट आवश्यक पहल हुनु जरुरी छ ।

अमेरिका र बेलायतमा बालबालिका स्कुलमा भर्ना हुनुपूर्व हरेक बालबालिकाको रगतमा लेडको परीक्षण अनिवार्य गरे जस्तै नेपालमा पनि सो गर्न, गराउन नीतिगत व्यवस्था हुनु पर्दछ ।