• १२ साउन २०८१, शनिबार

विश्वभरका द्वन्द्व अन्त्य गर्न लुम्बिनीबाट आह्वान

blog

लक्ष्मण पौडेल

भैरहवा, कात्तिक १५ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गौतम बुद्धको जन्मथलो लुम्बिनीबाट संसारभर भइरहेका द्वन्द्व अन्त्य र विश्व शान्तिको कामना गर्नुभएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनपछि महासचिव गुटेर्रेसले इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भइरहेको द्वन्द्व अन्त्य गर्न आह्वान गर्नुभयो । 

बुद्धको जन्मस्थल लुम्बिनी आउन पाएकामा खुसी व्यक्त गर्दै उहाँले बुद्धको पञ्चशीलको दर्शन र संयुक्त राष्ट्रसङ्घको मिसन मिल्दोजुल्दो भएको उल्लेख गर्नुभयो । “शान्ति र मानवता अपरिहर्य विषय हो, मानवीयता मर्न दिनुहुन्न,” उहाँले भन्नुभयो, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसङ्घको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहानबाट सबैले सिकौँ, लुम्बिनी घुमौँ ।”

महासचिव गुटेर्रेसले जलवायु परिवर्तनको असर रोक्न सामूहिक पहलको आवश्यकता औँल्याउनुभयो । मङ्गलबार बिहान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुग्नुभएका गुटेर्रेसले शान्ति दीपमा दीप प्रज्वलन, मायादेवी मन्दिरमा पुगेर दर्शन र वृक्षरोपण गर्नुभएको छ । शान्ति दीपबाट मायादेवी मन्दिरसम्म उहाँ पैदल हिँड्नुभएको थियो । 

महासचिव गुटेर्रेस लुम्बिनी विकास कोषको स्वागत समारोहमा सहभागी हुनुभयो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्ध धर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूहले शान्ति दीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका थिए । 

यसै गरी महासचिव गुटेर्रेसले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतम बुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भ्रमणमा आउनुभएका महासचिव गुटेर्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतले स्वागत गर्नुभएको थियो ।