धर्बेन्द्र झा
जनकपुरधाम, कात्तिक १४ गते । सेभ द चिल्ड्रेनले तिनै तहका सरकारसँगको सहकार्यमा बालबालिकाको रक्षा र संरक्षणका लागि काम गर्न थालिएपछि बालबालिकाको समग्र अवस्थामा सुधार हुन थालेको दाबी गरेको छ ।
मधेश प्रदेशका पाँच जिल्लाको २१ वटा पालिकामा बालबालिकाको अधिकारसँग सम्बन्धित विभिन्न क्षेत्रमा उक्त संस्थाले काम गर्दै आएको जनाएको छ । सेभ द चिल्ड्रेन मधेश प्रदेशको फिल्ड कार्यालय बर्दिवासले मङ्गलबार जनकपुरधाममा मधेश प्रदेशका पत्रकारहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशको मानव सूचकाङ्कको दृष्टिकोणले कमजोर रहेको सप्तरीको छ, महोत्तरीको सात, सर्लाहीको चार, बाराको तीन र धनुषाको एक पालिकामा शिक्षा, स्वास्थ्य, रोजगारी, पैरवीसहितको क्षेत्रमा काम गरिरहेको जानकारी दिइएको छ ।
सेभ द चिल्ड्रेनको कार्यक्रम बालबालिकाको बाँच्न पाउने अधिकार, पढ्न पाउने अधिकार तथा बालबालिकाको संरक्षणको अधिकारमा केन्द्रित भएर काम गरिरहेको सेभ द चिल्ड्रेन मधेश प्रदेश कार्यालयका प्रमुख घन भुसालले जानकारी दिनुभयो ।
सेभ द चिल्ड्रेनले मानव सूचकाङ्कले पछाडि परेको मधेश प्रदेश तथा कर्णाली प्रदेशलाई उच्च प्राथमिकतामा राखेर सङ्घ, प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गरेर काम गरिरहेको प्रमुख भुसालले जानकारी दिनुभयो । सन् २०२२ मा मधेश प्रदेशका २१ पालिका एक लाख ९८ हजार तीन सय ९० बालबालिकाले प्रत्यक्ष रूपमा लाभान्वित भएको जानकारी दिइएको थियो ।
शिक्षा, बाल सुरक्षा, बालअधिकार मैत्री सरकार, स्वास्थ्य र पोषण, बाल गरिबी न्यूनीकरण र क्रस कटिङ्गको क्षेत्रमा सेभ द चिल्ड्रेनले स्थानीय तथा प्रदेश सरकारलाई सघाउने काम गरिरहेको जानकारी दिइएको छ । संस्थाले स्थानीय गैरसरकारी संस्थाहरू मार्फत मधेश प्रदेशका चार सय ४० प्री–प्राइमरी तथा आधारभूत विद्यालय, चार सय ७२ बाल क्लबसहित विभिन्न माध्यमले बालबालिकाको समग्र अवस्थामा सुधार ल्याउन काम गरिरहेको सेभ द चिल्ड्रेनका वरिष्ठ फिल्ड अफिसर उमेश कुमार गुप्ताले जानकारी दिनु भयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी भएका पत्रकारहरूले सेभ द चिल्ड्रेनलाई बालबालिकाका विभिन्न विषयहरूमा थप कामकाज गर्नु पर्ने सुझाव दिएका थिए । सेभ द चिल्ड्रेनले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सुरक्षाका विषयमा गरेको सकारात्मक कार्यक्रमहरूको विषयमा कलम चलाउन तयार भएको सहभागी भएका पत्रकारहरूले प्रतिबद्धता प्रकट गर्नु भएको छ । अन्तरक्रियामा प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो ।