• १५ मंसिर २०८१, शनिबार

एमालेको एकल सरकार बनाउँछौँ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरु । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक १३ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत र अभिमत जितेर २०८४ मा एकल बहुमतको सरकार बनाउने बताउनुभएको छ । 

एमाले गण्डकी प्रदेश कमिटीको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्न पोखरा आउनुभएका अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धनका कारण देश बर्वादीको दिशामा गएको दाबी गर्दै त्यसलाई रोक्न एमालेको नेतृत्व आवश्यक हुने बताउनुभयो । 

अध्यक्ष ओलीले कम्बोडियाको टेलिकममा आफ्नो लगानी भएको भन्ने हल्ला मिथ्या भएको जनाउँदै त्यसलाई प्रमाणित गर्न चुनौती दिनुभयो । “कम्बोडियामा गएर बुझेर मेरो तीन हजार करोड लगानी भएको प्रमाणित गरिदिए त्यो सेयर उहाँलाई नै दिन्छु, बक्सिस एक हजार पनि थपेर दिन्छु” उहाँले भन्नुभयो ।

गण्डकीमा दुई प्यानल बनाएर एमालेको प्रदेश अधिवेशनमा चुनाव हुँदा बाहिर केही टिप्पणी भएको जनाउँदै उहाँले आन्तरिक एकताले मात्र समृद्धिको यात्रा सहज हुने जनाउनुभयो । 

अध्यक्ष ओली सहभागी हुने कार्यक्रमलाई एमाले गण्डकीले विशेष समारोहको नाम दिएको छ । समारोहलाई एमाले नेताहरु रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्टलगायतका नेताले सम्बोधन गर्नुभयो । 

असोजको तेस्रो हप्ता भएको एमाले गण्डकीको प्रथम अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओली खराब मौसमका कारणका उपस्थित हुन सक्नुभएको थिएन । अधिवेशनले म्याग्दीका नवराज शर्माको अध्यक्षतामा एक सय ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । 

कमिटीको उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी, उपसचिवद्वय मञ्जु अधिकारी र दामबहादुर विक निर्वाचित हुनुभएको थियो । एमाले गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य खगराज अधिकारी निकटका दुई प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । 

निर्वाचनमा उपमहासचिव गुरुङ निकट नवराज शर्मा नेतृत्वको प्यानल नै विजयी भएको थियो । शर्माका प्रत्यासी लमजुङका मायानाथ अधिकारी मनोनयन दर्ता गरेपछि एमाले केन्द्रीय सदस्यबाट समेत पदमुक्त हुनुभएको छ । 

नवनिर्वाचित अध्यक्ष शर्माले एकसय ६५ सदस्यीय कमिटीमा १० सदस्य मनोनित गर्ने ठाउँ रहेको जनाउँदै सबैलाई सम्मानजनक स्थान दिइने बताउनुभयो । केही नेतालाई स्थानीय तह, केही वरिष्ठ नेतालाई केन्द्रमा जिम्मेवारी दिइनुपर्ने विचार राख्दै उहाँले एमाले अब २०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने लक्ष्यसहित जनतामा जाने  प्रतिवद्धता छ ।