• ५ पुस २०८१, शुक्रबार

‘खाद्यअधिकारका लागि सरकार जवाफदेही बन्नुपर्छ’

blog

कार्यक्रमका सहभागीहरु । तस्बिर : सावित्री गिरी

साबित्री गिरी

कोहलपुर, कात्तिक १३ गते । खाद्य अधिकार सुनिश्चित गर्न सरकार जवाफदेही बन्नुपर्ने वक्ताहरुको भनाइ छ । सोमबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिनुभएको हो ।

फियान नेपालको आयोजनामा सरोकारवाला निकायका व्यक्तिहरु, संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा खाद्यअधिकार सञ्चालनका प्रतिनिधिबीच गरिएको छलफल कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । 

खाद्य अधिकारको नीति बनाउन पटक–पटक आग्रह गर्दा बनाए पनि कपितय स्थानीय तहले कार्यान्वयनमा लैजान नसकेको सहभागीले बताएका थिए । कार्यक्रममा अधिबक्ता बसन्त गौतमले खाद्य अधिकार कार्यान्वयनका लागि अदालतबाट भएका फैसला पनि कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । 

उहाँले यसका लागि नियमित पैरवीको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा मानवअधिकारकर्मी भोला महतले खाद्य अधिकार सुनिश्चित गर्ने कुरा एमदमै गाह्रो काम भएकाले सबैको समन्वयात्मक पहल आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा खाद्यअधिकारका लागि नियमित अनुगमन गर्नुपर्ने, खाद्य स्वच्छताका बिषयमा सम्वन्धित निकायले पहलकदमी गर्नुपर्ने, सञ्चारमाध्यमसँग समन्वय बनाउनुपर्ने र बनाएका नीति कार्यान्वयन गर्ने कुरालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने कुरामा जोड दिइएको फियान नेपालका लुम्बिनी प्रदेश संयोजक शुरेस गौतमले बताउनुभयो । 

कार्यक्रममा सामाजिक बिकासका क्षेत्रमा लामो अनुभव भएका बिज्ञ उत्तम उप्रेती र बिष्णुप्रसाद पोखरेल, फियान नेपालका निर्देशक अशोकबहादुर सिंहलगायतको समेत उपस्थिति थियो ।