• ११ मंसिर २०८१, मङ्गलबार

कर्णालीमा आपराधिक घटना बढ्दै : छ जनाको ज्यान गयो, ३१ पक्राउ

blog

घटनाको अनुसन्धानका लागि आइतबार मुगु पुगेको प्रदेश प्रहरी प्रमुखसहितको टोली । तस्बिर : रजनी योगी

रजनी योगी
सुर्खेत, कात्तिक १३ गते ।
 गत शुक्रबार बिहान मुगुमा चार जनाको शव फेला पर्‍यो । छायाँनाथ रारा नगरपालिका– ६ मन्दुमा शव फेला परेका हुन् । उनीहरूको हत्या भएको आशङ्का गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले बताउनुभयो ।

घटना गत बुधबार राति भएको तर प्रहरीलाई भने शुक्रबार मात्र खबर गरिएको जनाइएको छ । हत्या गरिएको विषयमा शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ जारी राखेको छ । यद्यपि ती व्यक्तिको नाम ठेगाना भने गोप्य राखिएको छ । अनुसन्धानमा बाधा नपुगोस् भन्ने उद्देश्यले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धानका लागि आइतबार प्रदेश प्रहरी प्रमुखसहितको टोली मुगु पुगेको छ । घटनाको सत्यतथ्य छानबिनका लागि मुगु पुगेको प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले बताउनुभयो । घटनाको थप जानकारी अनुसन्धानपछि सार्वजनिक हुने भन्दै उहाँले अहिले अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

दसैँकै अवधिमा दैलेखमा छुट्टाछुट्टै भएका झडपमा दुई युवकको ज्यान गयो । ज्यान जानेमा दैलेखको नारायण नगरपालिका–७ का २५ वर्षीय रोहन शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गत बिहीबार राति भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा युवाहरूबिच भएको झडपमा घाइते क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको हो । दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

यस्तै, दैलेखकै नारायण नगरपालिका–७ मा कात्तिक ७ गते राति युवाहरूबिच भएको झडपमा परी शाहीको मृत्यु भएको थियो । झडपमा घाइते हुनुभएका उहाँको पनि उपचारका क्रममा गत शुक्रवार प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । घटनामा संलग्न रहेको भन्दै चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, गत बुधवार सल्यानमा ढोग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका–७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओली रहेको प्रहरीले जनाएको छ । उहाँलाई कात्तिक ४ गते भलिबल खेल्न गएको मैदानमा छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

यसरी दसैँ अवधिभर कर्णालीमा थुप्रै हिंसात्मक घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यस वर्षको बडादसैँ अवधिभर ५८ वटा अपराधका घटना दर्ता भएका छन् । त्यसमध्ये ३४ वटा कुटपिट तथा झैँ–झगडाका घटना छन् । उक्त घटनामा ६ जनाको ज्यान गएको छ भने ३१ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

हरेक वर्ष दसैँलगायत चाडपर्वको समयमा आपराधिक घटना बढी नै हुने गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा दसैँ अवधिभर ४४ वटा अपराधका घटना प्रहरीमा दर्ता भएका थिए । यस्तै, आर्थिक वर्ष २०७९/०८० मा २५ घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।

आपराधिक घटनामा वृद्धि

त्यसो त चाडपर्वको समयमा मात्रै होइन पछिल्ला वर्षहरूमा आपराधिक घटनाहरू बढ्दै गएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णालीमा प्रत्येक वर्ष आपराधिक घटनाको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७७/०७८ मा एक हजार ६ सय ३७ वटा अपराधसम्बन्धीका मुद्दा दर्ता भएका थिए । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा एक हजार पाँच सय ५५ मुद्दा दर्ता भएभने आर्थिक वर्ष २०७९/०८० मा एक हजार सात सय २९ अपराधका मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्षको यो अवधिसम्म चार सय ८० अपराधका मुद्दा दर्ता भइसकेका छन् ।

अपराधजन्य घटनामा वृद्धि भइरहँदा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख भिमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका दोषीलाई पक्राउ गरिरहेको छ । चोरी, बहुविवाह, कर्तव्य ज्यान र सार्वजनिक मुद्दामा अदालतले दोषी ठहराएर कैद सजाय र जरिमानाको फैसला सुनाइएका कसुरदार धमाधम समातिन थालेको उहाँको भनाइ छ ।

अनुसन्धानलाई प्रभावकारी र अदालतको फैसला कार्यान्वयन, पीडितलाई न्याय अनुभूति तथा दोषीलाई कानुनी दायरामा ल्याउन घटना लगत्तै संलग्न व्यक्ति पक्राउ गर्ने रणनीति लिएको ढकालले जानकारी दिनुभयो । ‘प्रहरी युनिट, स्थानीय तह, सरकारी कार्यालय र अन्य संयन्त्र परिचालन गरी अन्य फरार कसुरदारको पनि खोजी भइरहेको छ’, उहाँले भन्नुभयो ।