कालीकोट समाचारदाता
कालीकोट, कात्तिक १३ गते । तिलागुफा नगरपालिका–६, जुबिथास्थित सत्यदेवी माध्यमिक विद्यालय र वडा नम्बर ९ चिल्खायास्थित शिवालय माध्यमिक विद्यालय भवनको अवस्था जीर्ण छ ।
सत्यदेवी माध्यमिक विद्यालयको आन्तरिक स्रोत धेरै छ । छ हजार वर्गमिटरभन्दा धेरै क्षेत्रफलमा विद्यालय फैलिएको छ । स्याउको राम्रो उत्पादन क्षेत्र भएकाले घेराबार गरेर स्याउ रोपेमा वार्षिक रूपमा राम्रो उत्पादन गर्न सकिने विद्यालयका शिक्षक नै बताउँछन् । विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले विद्यालयको सम्पत्ति संरक्षणमा विद्यालय व्यवस्थापन समितिको चासो नहुनु, प्रशासनलाई अधिकार नदिनु र विद्यालयकेन्द्रित योजना कटौती गरेर सडक बनाउनतिर लगानी गर्नुले विद्यालयको भौतिक पूर्वाधार सुधार गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष विद्यालय घेराबारका लागि प्राप्त योजनालाई नाम बदलेर कामै नलाग्ने ठाउँमा सडक खन्न लगाइएको थियो । अन्य समयमा विद्यालयको केही सुधार गरौँ, नियमित बालबालिका विद्यालय पठाइदिन भन्दै छलफल आयोजना गरिए पनि सहभागिता अत्यन्त न्यून हुने गरेको छ ।
पहिले राम्रो भवन भएको तर पछि स्थानीय अभिभावकले आफ्ना बाख्रा हुल्ने गोठ बनाएपछि भवन जीर्ण भएको छ । शिक्षक मानबहादुर सहकारीले धेरै टाढाबाट आउने विद्यार्थीका लागि मर्मत गरेर छात्रावास बनाऊँ भन्दा पनि सरकार र विद्यालय व्यवस्थापन समितिले सुनुवाइ नगरेको बताउनुभयो ।
जीर्ण संरचना सुरक्षाका लागि बस्दै आएकालाई समेत छोडेर गाउँमा गएर भाडामा बस्न भनिँदै आएकोप्रति शिक्षक सहकारीले दुःख व्यक्त गर्नुभयो । शिवालय मावि चिल्खायामा पनि बनेको भवन प्रयोग नै नगरेर जीर्ण भएको छ । भवन बने पनि प्रयोगमा आएको छैन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर सुनारले नगरपालिकालाई थोरै बजेट व्यवस्थापन गरिदिन आग्रह गर्दा नदिएका कारण भवन मर्मत गर्न नसकेको बताउनुभयो । अध्यक्ष सुनारले नेताले भनसुन गरेर बजेट ल्याउने, समितिमा आफैँ बसेर काम गर्ने र बजेट बचाउने कार्यले विकास निर्माण कार्य गतिलो नहुने बताउनुभयो ।