• १५ वैशाख २०८१, शनिबार

नेपालसमक्ष टी–२० विश्वकप खेल्ने अवसर

blog

काठमाडौँ, कात्तिक १३ गते । आइसिसी टी–२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले सोमबारदेखि यस प्रतियोगिताको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्दै छ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक २० गतेसम्म नेपालमै आयोजना हुँदै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा प्रतियोगिता हुने छ । 

यसअघि नेपालले एक पटक सन् २०१४ मा टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलिसकेको छ । बङ्गलादेशमा भएको सो विश्वकपमा तीनमध्ये दुई खेल जितेको नेपाल रन औसतका आधारमा अघिल्लो चरणमा पुग्नबाट वञ्चित भएको थियो । जुन टिम गेममा नेपाली खेलकुदको अहिलेसम्मको ठुलो उपलब्धिका रूपमा रहेको छ । त्यसपछिका तीन टी–२० विश्वकपमा नजिक पुगेर पनि नेपाल चयन हुन सकेन तर यसपालि उत्कृष्ट लय, घरेलु मैदान र दर्शकको फाइदा हुने भएकाले नेपाललाई विश्वकप टी–२० जित्ने ठुलो अवसर छ ।

यस छनोट प्रतियोगितामा फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टी–२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ ।

टिम राम्रो मानसिकतामा 

प्रशिक्षक मोन्टी देसाईले नेपालको लक्ष्य टी–२० विश्वकपमा छनोट हुनु रहेको बताउनुभयो । प्रशिक्षक देसाईको प्रशिक्षकत्वमा नेपाली क्रिकेट टिमले पछिल्लो एक वर्षमा थुप्रै उपलब्धि हासिल गरेको छ । यद्यपि टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपालमा गत हप्ता युएई र हङकङ सामेल त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भने नेपाल फाइनलमा युएईसँग हारेर निराश बनेको थियो । 

तर प्रशिक्षक देसाईले यसलाई निराश बनाउने नतिजाका रूपमा लिनुभएको छैन । “त्रिदेशीय शृङ्खलामा फाइनलमा हार इतिहास भइसकेको छ । त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने हो,” प्रशिक्षक देसाईको भनाइ छ । उहाँका अनुसार नेपाली टिमले हालका दिनमा जसरी खेलिरहेको छ । त्यसलाई हेर्ने हो भने यस पटक नेपालले विश्वकप टी–२० मा खेल्ने सुनौलो अवसर छ । उहाँले भन्नुभयो, “हाम्रो ध्यान अहिले विश्वकपमा चयन हुनेमा नै छ । यसका लागि हामी खेल मात्र होइन, खेलाडीको अनुशासन, मानसिकता आदि हरेक पक्षमा काम गरिरहेका छौँ । अहिले टिमको मानसिकता एकदम राम्रो छ । त्यो ठुलो कुरा हो । ठुलो प्रतियोगिता जित्न राम्रो प्रदर्शन मात्र होइन, कठिन समयमा संयम र धैर्यपूर्वक खेल्न पनि सक्नु पर्छ । खेलाडीले अपेक्षाको दबाबलाई झेल्न सक्नु पर्छ । टी–२० क्रिकेटमा एक बलले पनि नतिजा परिवर्तन गर्न सक्छ भन्ने मानसिकतामा मेरा केटाहरूले खेल्ने छन् । टी–२० तेज गतिमा खेलिने क्रिकेट हो तर मेरा सबै खेलाडीले आआफ्ना भूमिका राम्ररी बुझेका छन् ।” प्रशिक्षक देसाईले एक समयमा एक खेलमा मात्र ध्यान केन्द्रित गरेर रणनीति बनाउने जानकारी पनि दिनुभयो ।

सन्दीपको पुनरागमन

प्रशिक्षक देसाईले नेपालका स्टार लेग स्पिनर सन्दीपको पुनरागमनले पनि टिममा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । सन्दीपले आफू मानसिक दबाबमा रहेको भन्दै त्रिदेशीय टी–२० शृङ्खलाबाट आफ्नो नाम फिर्ता लिनुभएको थियो तर उहाँले विश्वकप टी–२० छनोट खेल्नुहुने छ । प्रशिक्षक देसाईले सन्दीप नेपाली टिमका महत्वपूर्ण सदस्य भएको बताउँदै उहाँको फिर्तीले टिममा सकारात्मक परिवर्तन हुने बताउनुभयो । कप्तान रोहितका अनुसार पनि सन्दीप आएपछि टिम थप बलियो भएको छ ।

कप्तान रोहित आशावादी

कप्तान रोहितले सबै खेलाडीको सोचाइ यस पटक जसरी भए पनि विश्वकपमा चयन हुनुपर्ने रहेको जानकारी दिनुभयो । “पछिल्ला केही विश्वकप छनोटमा हामी अन्तिम क्षणमा चिप्लिएका छौँ तर त्यसबाट शिक्षा लिएर खेल्ने छौँ । हामीलाई लाग्छ यसपालि विश्वकपमा चयन हुने धेरै सम्भावना छ । टिमको सन्तुलन राम्रो छ । ब्याटिङमा लचकता छ । गत महिनादेखि ब्याटिङ युनिट राम्रो छ । अनुभवी बलिङ आक्रमण छ । घरेलु वातावरणमा खेल्दै छौँ । घरेलु समर्थकको सहयोग र साथ हुने छ । हामी घरेलु मैदानमा लगातार राम्रो क्रिकेट पनि खेलिरहेका छौँ तर टी–२० मा भविष्यवाणी गर्न गाह्रो हुन्छ । त्यसैले कुनै टिमलाई हलुका रूपमा लिएका छैनौँ । सबैले शतप्रतिशत ध्यान लगाएर खेल्ने छौँ,” कप्तान रोहितले भन्नुभयो ।

पहिलो खेलमा नेपालको प्रतिद्वन्द्वी सिङ्गापुर

विश्वकप छनोटमा आठ टिम सहभागी छन् । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, सिङ्गापुर, ओमान र मलेसिया तथा समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, हङकङ, कुवेत छन् ।

नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिङ्गापुरविरुद्ध उद्घाटन खेल खेल्ने छ । सो खेल बिहान ९ बजे सुरु हुने छ । सोही समयमा मूलपानी क्रिकेट मैदानमा युएई र बहराइनबिच पनि खेल हुने छ । पहिलो दिन दिउँसो १.१५ बजे ओमान र मलेसिया तथा हङकङ र कुवेत भिड्ने छन् । प्रत्येक समूहमा शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ ।

नेपाली टिम

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।