• १९ असार २०८१, बुधबार

देउडा संरक्षणका लागि संस्कृति मञ्च

blog

हुम्ला समाचारदाता

हुम्ला, कात्तिक १३ गते । देउडा संरक्षण गर्न हुम्लाको सिमकोट गाउँपालिकामा देउडा संस्कृति मञ्च लागिपरेको छ । मञ्च प्रत्येक महिना देउडा गीत गायन आयोजना गर्दै यसको जगेर्नामा लागेको हो । २०८० साल वैशाख १ देखि देउडा, ढाल, दमायालगायतका संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम सुरु गरिएको हो । देउडा संस्कृतिप्रति नयाँ पुस्ताको रुची नदेखिँदा गाउँका स्थानीयले देउडा संस्कृति मञ्च गठन गरी यस्तो कार्य सुरु गरेका हुन् । गत वैशाखदेखि हुम्लाको सिमकोटमा महिनाको दुई दिन १ र १५ गते देउडा प्रतियोगिता हुने गरेको छ । 

प्रतियोगिता हेर्न टाढा टाढादेखि स्थानीय भेला हुने गरेका छन् । पश्चिमेली संस्कृतिको प्रभावमा हुम्लाको संस्कृति लोप हुने चिन्ताले संस्कृति जगेर्नाका लागि स्थानीय बुढापाका एकजुट भएको संस्कृति संरक्षण मञ्चका अध्यक्ष तीर्थराज रोकायाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “देउडा गीतमा पहिला पहिला रामायणका रामसीताको चरित्र, महाभारतको गाथा, प्रकृतिको बयानगाथा, मायापिरती, दुःख वेदनाका गीत गाइने गरिन्थ्यो । यो पहिले केटाकेटीले विवाह गर्ने माध्यम पनि थियो । केटाकेटी मिलेर रातभर देउडा गाउने सामान्य जस्तै थियो उति बेला तर अहिले त्यसरी गाउने चलन हटिसकेको छ ।” हालसम्म संस्कृति संरक्षण अभियानमा ९४ जना सदस्य जोडिइसकेका छन् ।