• २७ वैशाख २०८१, बिहिबार

नेपालसमक्ष टि–२० विश्वकप खेल्ने राम्रो अवसर

blog

आइसिसी टि–२० विश्वकप खेल्ने नेपाली टिम ।

काठमाडौं, कात्तिक १२ गते । आइसिसी टि–२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले सोमबारदेखि यस प्रतियोगिताको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्दैछ । आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक २० गतेसम्म नेपालमै आयोजना हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा प्रतियागिता हुनेछ ।

यसअघि, नेपालले एक पटक सन् २०१४ मा टि–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलिसकेको छ । बङ्गलादेशमा भएको सो विश्वकपमा नेपालले तीनमध्ये दुई खेल जितेपछि रन औसतको आधारमा अघिल्लो चरणमा पुग्नबाट वञ्चित भएको थियो । जुन सामूहिक खेलमा नेपाली खेलकुदको अहिलेसम्मको ठूलो उपलब्धिको रुपमा छ । त्यसपछिका तीन टि–२० विश्वकपमा नजिक पुगेर पनि नेपाल चयन हुन सकेन । तर यसपालि उत्कृष्ट लय र घरेलु मैदान र दर्शकको फाइदा हुने भएकोले नेपाललाई विश्वकप टि–२० खेल्ने ठूलो अवसर छ ।

यस छनोट प्रतियोगितामा फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि–२० विश्वकप खेल्न पाउने प्रावधान छ । विश्वकप टि–२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

टिमको मानसिकता राम्रो
प्रशिक्षक मोन्टी देसाइले आइतबार टोलीको नेपालको लक्ष्य ट्वान्टी–२० विश्वकपमा छनोट हुनु रहेको बताउनुभयो । प्रशिक्षक देसाइका प्रशिक्षकत्वमा नेपाली क्रिकेट टिमले पछिल्लो एक वर्षमा थुप्रै उपलब्धि हािसल गरेको छ । यद्यपि टि–२० विश्वकपक छनोटको तयारीस्वरुप नेपालमा गत हप्ता युएइ र हङकङ सामेल त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भने नेपाल फाइनलमा युएइसँग हारेर निराश बनेको थियो ।


तर प्रशिक्षक देसाइले यसलाई निराश बनाउनुपर्ने नतिजाको रुपमा लिनुभएको छैन । त्रिदेशीय शृङ्खलामा फाइनलमा हार इतिहास भइसकेको छ । त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने हो, प्रशिक्षक देसाइको भनाइ छ । उहाँका अनुसार नेपाली टिमले हालका दिनमा जसरी खेलिरहेको छ । त्यसलाई हेर्ने हो भने यसपटक नेपालले विश्वकप टि–२० मा खेल्ने सुनौलो अवसर छ ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो ध्यान अहिले विश्वकपमा चयन हुनेमा नै छ । यसका लागि हामी खेलमात्र होइन, खेलाडी अनुशासन, मानसिकता आदि हरेक पक्षमा काम गरिरहेका छौँ । अहिले टिमको मानसिकता एकदम राम्रो छ । त्यो ठूलो कुरा हो । ठूलो प्रतियोगिता जित्न राम्रो प्रदर्शन मात्र होइन, कठिन समयमा संयम र धैर्यपूर्वक खेल्न पनि सक्नुपर्छ । खेलाडीहरुले अपेक्षाको दबाबलाई झेल्न सक्नुपर्छ । टि–२० क्रिकेटमा एक बलले पनि नतिजा परिवर्तन गर्न सक्छ भन्ने मानसिकतामा मेरो केटाहरुले खेल्नेछ । टि–२० तेज गतिमा खेलिने क्रिकेट हो । तर मेरा सबै खेलाडीले आ-आफ्ना भूमिका राम्ररी बुझेका छन् ।’’ उहाँले एक समयमा एक खेलमा मात्र ध्यान केन्द्रित गरेर रणनीति बनाउने जानकारी पनि दिनुभयो ।

सन्दीपका पुनरागमन
प्रशिक्षक देसाइले नेपालका स्टार लेग स्पीनर सन्दीपको पुनरागमनले पनि टिममा सकारात्मक प्रभाव पार्नेछ, भन्नुभयो । सन्दीपले आफू मानसिक दबाबमा रहेको भन्दै त्रिदेशीय टि–२० शृङ्खलाबाट आप्mनो नाम फिर्ता लिनुभएको थियो । तर उहाँले विश्वकप टि–२० छनोट खेल्नुहुनेछ । प्रशिक्षक देसाइले पनि सन्दीप नेपाली टिमका महत्त्वपूर्ण सदस्य हो भन्नुहुँदै उहाँको फिर्तीले टिममा सकारात्मक परिवर्तन हो, भन्नुभयो । कप्तान रोहितले पनि सन्दीप आएपछि टिम थप बलियो भएको बताउनुभयो ।

कप्तान रोहित आशावादी
कप्तान रोहितले सबै खेलाडीको सोचाई यसपटक जसरी भए पनि विश्वकपमा चयन हुनुपर्ने रहेको जानकारी दिनुभयो । ‘‘पछिल्ले केही विश्वकप छनोटमा हामी अन्तिम क्षणमा चिप्लिएका छौँ तर त्यसबाट शिक्षा लिएर खेल्नेछौँ । हामीलाई लाग्छ यसपालि विश्वकपमा चयन हुने धेरै सम्भावना छ । टिमको सन्तुलन राम्रो छ । ब्याटिङमा लचकता छ । गत महिनादेखि ब्याटिङ युनिट राम्रो छ । अनुभवी बलिङ आक्रमण छ । घरेलु वातावरणमा खेल्दैछौँ । घरेलु समर्थकको सहयोग र साथ हुनेछ । हामी घरेलु मैदानमा लगातार राम्रो क्रिकेट पनि खेलिरहेका छौँ तर टि२० मा भविष्यवाणी गर्न गाह्रो हुन्छ । त्यसैले कुनै टिमलाई हलुका रुपमा लिएका छैनौँ । सबैले शतप्रतिशत ध्यान दिएर खेल्नेछन्,’’ कप्तान रोहित भन्नुुहुन्छ ।


पहिलो खेलमा नेपालको प्रतिद्वन्दी सिङ्गापुर
विश्वकप छनोटमा आठ ठिम सहभागी छन् । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, सिङगापुर, ओमान र मलेसिया तथा समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, हङकङ, कुवेत छन् ।

नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिङ्गापुरविरुद्ध उद्घाटन खेल खेल्नेछ । सो खेल बिहान ९ बजे सुरु हुनेछ । सोही समयमा मूलपानी क्रिकेट मैदानमा युएइ र बहराइनबीच पनि खेल हुनेछ । पहिलो दिन दिउँसो १.१५ बजे ओमान र मलेसिया र हङकङ र कुवेत भिड्नेछन् । प्रत्येक समूहमा शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने प्रावधान छ ।

नेपाली टिम
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनास बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।