• १३ मंसिर २०८१, बिहिबार

बुद्धिचाल महासङ्घको कार्यवाहक अध्यक्षमा महर्जन

blog

नेपाल बुद्धिचाल महासङ्घको कार्यवाहक अध्यक्षमा नियुक्त हुनुभएको हेराकाजी महर्जन ।

काठमाडौं, कात्तिक १२ गते । नेपाल बुद्धिचाल महासङ्घको कार्यवाहक अध्यक्षमा हेराकाजी महर्जन नियुक्त हुनुभएको छ । महासङ्घको नवौं कार्यसमितिको बैठकअघि अध्यक्ष विदुरप्रसाद गौतमले कार्य व्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजीनामा पत्र हस्तान्तरण गर्नुभएको थियो ।

गौतमको उपस्थित रहेको बैठकले राजीनामा स्वीकृत गरेपछि महासंघ विधान बमोजिम अध्यक्षले गर्ने सम्पूर्ण कार्यकारी अधिकारसहित महर्जनलाई अध्यक्षमा सर्वसम्मतिले निर्णय गरेको छ ।

२०५५ सालमा बुद्धिचाल  खेलाडीका रुपमा जीवन सुरु गरेका महर्जन २०६२ सालमा केन्द्रीय कार्यसमितिमा छानिनुभएको थियो । त्यसपछि उहाँ सङ्घको सचिव, महासचिव र उपाध्यक्ष हुँदै गत वैशाखमा सम्पन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसअघि, २०७२ देखि २०७६ सम्म उहाँले ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्नुभएको थियो ।

कार्यवाहक अध्यक्षको पदभार ग्रहण गर्दै महर्जनले बुद्धिचाल खेल बिकास र विस्तार गर्ने कार्यमा सबैलाई समेतेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।