अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक ११ गते । मुस्ताङ जिल्लामा भदौ दोस्रो हप्तादेखि बन्द भएको शल्यक्रिया सेवा अझै पनि सञ्चालन भएको छैन । दुई महिनादेखि सेवा बन्द हुँदा सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् । मुस्ताङ जिल्ला अस्पतालमा रहेका विशेषज्ञ चिकित्सकको सरुवा भएपछि अर्को व्यवस्था नभएकाले समस्या भएको हो ।
जिल्ला अस्पतालमा कार्यरत रहनुभएका नवौँ तहका एमडिजिपी चिकित्सक डा. मुखिया घलेको सरुवा भएसँगै मुस्ताङ अस्पतालमा शल्यक्रिया सेवा बन्द भएको हो । मनाङ अस्पतालबाट मुस्ताङ आउनुभएका डा. घलेको सरुवा भएसँगै मुस्ताङमा सल्यक्रिया गर्ने डाक्टरको अभाव भएको हो । मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. तेजस नेपालले भन्नुभयो, “चिसो मौसम अनि अहिले जिल्लाबाहिरका पर्यटकको बढ्दो चापको समयमा विशेषज्ञ डाक्टर नहुँदा निकै कठिनाइ भएको छ ।”
दुई वर्षे दुर्गम सेवा प्रावधान अनुरूप मुस्ताङ अस्पतालको पहलमा डा. घले मुस्ताङ अस्पतालमा आउनुभएको थियो । घलेभन्दा पहिला एमडिजिपी चिकित्सक डा. कुन्दन कर्ण कार्यरत हुनुहुन्थ्यो । दुवै एमडिजिपी चिकित्सकले आफ्नो कार्यकालमा प्रसूतिलगायतका शल्यक्रिया सँगसँगै अन्य सामान्य शल्यक्रियासमेत गर्नुपर्ने बिरामीलाई मुस्ताङमै सेवा पु¥याउनुभएको थियो । नेपाल सरकारको छात्रवृद्धि सुविधाबाट अध्ययन गर्नुभएका घले सरुवा भएपछि सल्यक्रियाका सबै सेवा बन्द भएको मुस्ताङ अस्पतालले जनाएको छ ।
२०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पताल स्थापना भएको ४८ वर्षपछि शल्यक्रिया सुरु गरिएको थियो । सुरुवाती १५ शøयाबाट सुरु गरिएको मुस्ताङ अस्पताल सङ्घीयतापछि प्रदेश सरकारको मातहतमा २५ शøया अस्पतालको रूपमा स्तरोन्नति भएको थियो ।
शल्यक्रिया सञ्चालनमा आएको दुई वर्ष नपुग्दै पटक पटक सेवा अवरुद्ध हुँदै आइरहेको स्थानीयको गुनासो छ । मुस्ताङ अस्पतालमा उपकरणको व्यवस्था भए पनि चिकित्सक नहुँदा भिडियो एक्सरे (युएसजी) सेवा पनि प्रदान गर्न असहज भएको छ ।
जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतेलाल थकालीले डाक्टर नहुँदा शल्यक्रिया रोकिएको उल्लेख गर्दै डाक्टर ल्याउने प्रयास गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्गम ठाउँमा दक्ष चिकित्सक नहुँदा बिरामीले धेरै खर्च गरेर उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता भएको छ ।”
मुस्ताङ अस्पतालका डार्क रुम अधिकृत भोजराज रेग्मीले जनशक्तिका कारण सेवा दिन कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा आउने बिरामीलाई सेवा दिन मन त हुन्छ तर दक्ष तथा विशेषज्ञ नै नहुँदा चाहेर पनि त सेवा दिन सकिँदैन, अनि बाहिर पठाउनुको विकल्प हुँदैन ।”
भौगोलिक विकटताका कारण मुस्ताङमा दक्ष र अनुभवप्राप्त चिकित्सक बस्न नचाहँदा अस्पतालको शलयक्रिया सेवा अवरुद्ध हुन पुगेको जोमसोमका व्यवसायी अमृत सुवेदीले बताउनुभयो ।