• १४ मंसिर २०८१, शुक्रबार

पालिकाका सबै सडक कालोपत्रे

blog

बाबुराम कार्की  

वराहक्षेत्र, कात्तिक ११ गते । पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको कोशी गाउँपालिकाका सबै वडा कालोपत्रे सडक सञ्जालसँग जोडिएको छ । सडक कालोपत्रे भएसँगै कोशी गाउँपालिका धुलोमुक्त पालिका बनेको छ । 

वडाका सबै मूल बाटाहरू कालोपत्रे गर्ने काम सकिएको छ । पालिकाका सबै वडाका सडक कालोपत्रे भएपछि कोशी गाउँपालिका धुलोमुक्त पालिका बनेको हो । 

महेन्द्र राजमार्गसँग लौकहीदेखि कोशी ब्यारेज क्षेत्रमा जोडिएको गाउँपालिकाको आठवटै वडाका सडक कालोपत्रे गरिएको छ । स्थानीय तहको पुनर्संरचना हुनुअघिसम्म वर्षको चार महिना स्थानीय बासिन्दा हिलो र पानीमा डुबेर बाटामा हिँड्नुपर्ने बाध्यता थियो । घरदेखि राजमार्गका दुवैतर्फका सडक डुबानमा पर्ने गरेका थिए । “महेन्द्र राजमार्गदेखि घरसम्म पुग्न जुत्ताचप्पल हातमा बोकेर पानीको बाटो हिँड्नु पथ्र्याे । अहिले कालो सडकमा जुत्ता चप्पल लगाएर हिँडिन्छ,” स्थानीय ६५ वर्षीय शम्भु शाहले भन्नुभयो । 

पालिकाको विकासले गति लिएपछि स्थानीयवासीसमेत खुसी छन् । गाउँपालिकाको आन्तरिक स्रोतबाहेक सङ्घीय सरकार, प्रदेश सरकार, तत्कालीन संसद् विकास कोषको सहयोगमा सडक बनेको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय जाने सडक थप चौडा बनाउन सम्बन्धित निकायसँग छलफल भइरहेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताउनुभयो । 

विसं २०७४ सालमा भएको स्थानीय निर्वाचनपछि बनेको कोशी गाउँपालिका सरकारले सडक पूर्वाधारको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको पालिकाका उहाँले बताउनुभयो । “गाउँपालिकावासीले वर्षामा डुबान भएको, हिलो, पानीको बाटो हिँड्नुपथ्र्याे । हिउँदमा धुलो सडकमा हिँड्नु पथ्र्याे । अहिले पालिकाका सबै मूल सडक र पछिल्लो समय भित्री सडकहरू पनि कालोपत्रे गरेका छौँ । पहिलो कार्यकालमा बन्न नसेकेका भित्री सडकहरूलाई प्राथमिकतामा राखेर काम गर्दै छाैँ,” अन्सारीले भन्नुभयो । 

कोशी गाउँपालिका–१, खुनियाधारदेखि लौकही बजार रिङरोड र बोर्डरदेखि हाइवेसँग जोडिएका सडक कालोपत्रे भएको छ । पालिकाका सबै मूल सडक र सहायक सडकहरू कालोपत्रे गरेर नागरिकलाई सहज बनाउन गाउँपालिका लागेको उहाँले बताउनुभयो ।  

पालिकाले वडा नम्बर २ को लौकही प्रहरी थाना र कृषि केन्द्रको बाटो हुँदै वराहक्षेत्र नगरको सिमाना मधुवनसम्म दुई वटै छ किलोमिटर सडक कालोपत्रे भएको वडाध्यक्ष ध्यानी उरावले बताउनुभयो । कोशी गाउँपालिकाले पूर्वपश्चिम राजमार्गदेखि कोशी कटानसम्म र मधुवन सीमासम्मका भित्री सडकहरू पनि कालोपत्रे भएको पालिकाले जनाएको छ । जमुवा चोकदेखि कोशी गेटसम्मको सडक पनि कालोपत्रे गरिएको छ । 

त्यस्तै वडा नम्बर ४ को जुदगन्ज चोकदेखि वडा कार्यालयसम्मको सडक कालोपत्रे गर्ने काम भइरहेको छ । वडाका अन्य सडकहरू कालोपत्रे गर्न कागजी प्रक्रिया अगाडि बढेको पालिकाले जनाएको छ । वडा नम्बर ५ का सडकहरू पनि कालोपत्रे सडक सञ्जालले जोड्ने काम भइरहेको छ । वडाध्यक्ष सहजनाल भोलाका अनुसार जमुवा चोकदेखि कुमियाईको हुड्की टोलसम्मको सडक, कुसियत टोलको सडक ठेक्का लागेर काम अगाडि बढेको छ । उहाँका अनुसार वडा नम्बर ६ को शिवचोक कटानदेखि वीरपुर जोड्ने सडक चार किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी वडाका अन्य सडक बन्ने प्रक्रियामा अगाडि बढेको हो । 

वडा नम्बर ७ को हरिपुर चोकदेखि आजत खेरबारसम्मको सडक कालोपत्रे भइसकेको छ । राजमार्गदेखि वडा नम्बर ६ सीमासम्मको सडक पनि कालोपत्रे ठेक्का लागेर काम अगाडि बढेको छ ।  वडा नम्बर ८ का  भित्री सडकहरू ठेक्का लागेर डेन बन्ने काम सकिएको छ । कालोपत्रेका लागि काम अगाडि बढेको पालिकाले जनाएको छ । कोशी गाउँपालिकाको १, ३, ४, ७ र ८ नम्बर वडा पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएका सडक छन् । गाउँपालिकाले वहुवर्षीय ठेक्काको नीति लिई पालिकाभित्र भौतिक निर्माण कार्य गर्दै आएको पालिकाले जनाएको छ ।