• १३ मंसिर २०८१, बिहिबार

पेट पाल्न डोली बोक्दै माओवादीका पूर्वकमान्डर

blog

प्रेमराज सिम्खडा

कालीकोट, कात्तिक ११ गते । रास्कोट नगरपालिका–३ का जगत् फडेरा कुनै बेला माओवादीका चर्चित कमान्डर हुनुहुन्थ्यो । अहिले उहाँ भारतको केदारनाथ क्षेत्रमा घर खर्च जुटाउन डोली बोक्दै आउनुभएको छ । 

तत्कालीन माओवादी द्वन्द्वका बेला विभिन्न आक्रमणमा ज्यानको बाजी थापेर लडेका लडाकु फडेरा परिवार पाल्नका लागि रोजगारी गर्न केदारनाथ पुगेको बताउनुहुन्छ । एक वर्षदेखि केदारनाथमा उहाँलगायत पूर्वलडाकुको समूहले डोली बोक्ने काम गरिरहेको छ । जनमुक्ति सेनाका कम्पनी कमान्डर फडेरा शान्तिपछि वाइसिएलमा संलग्न हुनुहुन्थ्यो । पार्टीको निर्देशन अनुसार आफूलाई वाइसिएलमा बस्न भनिएकाले सेना समायोजनमा पर्न नसकेको गुनासो उहाँको छ । 

अहिले परिवारको खर्च धान्न र पेट पाल्न समस्या भएपछि केदारनाथ दर्शनका लागि आउने भक्तजनलाई डोलीमा राखेर मन्दिर पुर्‍याउने काममा लागेको उहाँले बताउनुभयो । पूजाको सिजन भएकोले अहिले डोली बोक्ने काम गर्ने गरेको उहाँको भनाइ छ । अब हिमपात सुरु भएकाले आफूलगायत सबै जना तल्लो क्षेत्रमा काम गर्न जाने गरेको उहाँले सुनाउनुभयो ।

२०५७  सालमा नै भूमिगत भएलगत्तै कलकलाउँदो युवा उमेर माओवादी लडाकुमा खर्चिएका फडेरा भूमिगत कालमा माओवादी नेता जनार्दन शर्मा, लेखराज भट्ट, हेमन्तप्रकाश ओलीलगायतका नेताको अङ्गरक्षकको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो । 

आफूले सुरक्षा दिएका नेताहरू मन्त्री बन्दै गर्दा पूर्वलडाकु फडेरा भने अहिले भारतका गल्ली चाहरिरहेका छन् । फडेरा सुदूरपश्चिमका प्रायः तत्कालीन सरकारी सेनासँगको लडाइमा प्रत्यक्ष सहभागी हुने लडाकु हुन् । 

कैलालीको खिमडीमा भएको ठुलो लडाइँमा जनार्दन शर्मा, हेमन्तप्रकाश ओली घेरामा परेपछि उनै फडेराले जीवनमरणको लडाइँ लडेर तत्कालीन शाही नेपाली सेनाको घेराबाट मुक्त गरेको उहाँका साथीहरू बताउँछन् ।नेता जनार्दन शर्मा माओवादी केन्द्रमै हुनुहुन्छ भने लेखराज भट्ट एमालेमा हुनुहुन्छ । हेमन्तप्रकाश ओली माओवादीबाट विभाजन भएको क्रान्तिकारी माओवादीमा हुनुहुन्छ । 

तीन नेता तीनतिर भएकाले पनि पूर्वलडाकु फडेरा भारत पलायन हुनु परेको अनुमान गरिन थालेको छ तर फडेराले कसैप्रति गुनासो नगरे पनि मनचाहिँ दुखाउँदै आउनुभएको छ ।