प्रेमराज सिम्खडा
कालीकोट, कात्तिक ९ गते । कालीकोटमा छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ । खाडाँचक्र नगरपालिका वडा २ का वर्ष २८ का सर्जन पाण्डे र सान्नीत्रिवेणी गाउँपालिका वडा ५ का ६५ वर्षीय लाले तिरुवाको भिरवाट लडेर मृत्यु भएको हो ।
पाण्डेको जिल्लाको पुरानो बसपार्कदेखि थामकोट घर जानेक्रममा भिरबाट लडेर ५० मिटर तल खसेको अवस्थामा स्थानीयले फेला पारेको प्रहरीले जनाएको छ । यस्तै, जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा ५ का ६५ वर्षीय तिरुवाको पनि लडेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार लालेको आफ्नै घरको आँगनबाट तल खस्दा मृत्यु भएको थियो । दसैंमा मदिरा सेवन गरेका कारणले दुवै जनाको ज्यान गएको प्रहरी भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यज्ञराज जोसीले दुवै घटनाको प्रहरीले घटना मुचुल्का सहित पोष्टमार्टम पछि आफन्तलाई शव बुझाएको बताउनुभयो ।