• ६ जेठ २०८१, आइतबार

दसैंको नवमीदेखि सुनसान मान्म सदरमुकाम

blog

दसैंमा सुनसान सदरमुकाम मान्मबजार । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, कात्तिक ८ गते । कालीकोटको सदरमुकाम मान्मबजार दसैंका बेला प्रायः खाली हुन्छ । यसपालि पनि दसैंको नवौ दिनसम्म आकलझुकल मानिसको आउजाउ भएपनि बुधवारका दिन सुनसान छ । बजारमा सुरक्षाकर्मीबाहेक सर्वसाधारणको आवतजावत देखिँदैन ।  

मान्म बजारमा बसोवास गर्ने प्रायः बाहिरका मानिस भएकाले दसैंका बेला सबै आफ्नो घर जाने भएकाले फूलपातीभन्दा अघिदेखि नै खाली हुन सुरु हुन्छ । यसपालि दसैंको अघिल्लो दिन बिहानसम्म केही मानिस देखिए पनि अहिले पूरै बजार सुनसान बनेको छ । 

बजारमा बिहान बेलुका झन कोही पनि भेटिंदैनन् । मान्मको जिरो प्वाइन्टमा जुम्ला मुगुका लागि आएका गाडीका स्टाफ र यात्रु देखिए पनि बीचबजार भने सुनसान छ । 

जिल्ला प्रशासन कार्यालय अगाडि सिलाइकटाइ पसल सञ्चालन गर्दै आउनुभएका रास्कोटका ग्याल्जने दमाइको परिवार यसपालिको दसैं नभएकाले घर जानुभएन । दसैं पछिसम्मको कपडाको अर्डर भएकाले उहाँको पसल खुला रह्यो । 

ग्याल्जनेले भन्नुभयो, “मेरो पसल र यही जिल्ला प्रहरी कार्यालयको गेट खुला छ । अरु सबै पसल बन्द छ । पहिलाको याद भएन । तर यसपालिका बजार ६ गते दिउँसोदेखि सुनसान छन् ।”  

जिल्लाभरिका घटना वुझ्दै दिन जान्छ । साँझ परेपछि फेरि कहाँ जानु रेडियोमै बसिन्छ । बाहिरको अवस्था के कस्तो छ बुझ्न पनि नपाएको सामुदायिक रेडियो मालिका एफएमका रमेश बाेगटीले सुनाउनुभयो ।