रामपुर (ओखलढुङ्गा),कात्तिक ७ गते । बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त हुनुहुन्थ्यो । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहनुभएको थियो ।
“काखमा नातिनी खेलाउँदै उसको न्वारान पूजा गर्न मन थियो । तर छोराबुहारी र नातिनी अमेरिकामा, हामी नेपालमा ”, घिमिरेले भन्नुभयो, “अनलाइनबाट भए पनि आफ्नै आँगनबाट न्वारान गर्न पाएँ ।” डेढ वर्षअघि ‘डाइभर्सिटी भिसा’मा छोराबुहारी अमेरिका गए । नातिनीको जन्म पनि उतै भयो । तर न्वारान भने गाउँबाटै अनलाइनमार्फत भयो ।
अमेरिकाको न्यूयोर्कमा रहेका बाबु ज्ञानेन्द्र घिमिरे र आमा रीता दाहाल पुरोहितले अनलाइनमार्फत भने अनुसारको मिल्नेसम्मका क्रियाकलापमा सहभागी हुनुभयो । आज टीकाको दिन भए पनि अनलाइनमार्फत भइरहेको न्वारान हेर्न छिमेकी भेला भएका थिए ।
सनातन हिन्दू परम्पराअनुसार नै न्वारान कर्म सञ्चालन गरिएको कर्मकाण्डका ज्ञाता युवराज घिमिरेले बताउनुभयो । वैदिक संस्कार, शास्त्रीय मर्म र षोडष संस्कारअनुसार न्वारान गरिएको उहाँको भनाइ छ ।
न्वारान कर्ममा सहभागी विक्रम दाहाल यस क्रियाकलापलाई प्रविधिको विकासले दिएको अवसरका रुपमा लिनुहुन्छ । “प्रविधिको विकासका कारण नेपालबाटै अमेरिकामा रहेकी शिशुको न्वारान सम्भव भयो”, उहाँले भन्नुभयो ।
अनलाइनबाटै भए पनि पनातिनीको न्वारान गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको ८७ वर्षीय जिजुआमा ईश्वरीदेवी घिमिरेले सुनाउनुभयो । उहाँले गाउँमा यस किसिमको कर्म पहिलो अनुभव भएको बताउनुभयो ।
अमेरिकी रुहानी, नेपाली प्रेयङ्का
पुरोहित भोला दाहालले हिन्दू संस्कार र नेपाली पात्रोअनुसार शिशुको नाम प्रेयङ्का राख्नुभयो । “आफ्नो संस्कार अनुरुप अग्निस्थापना गरी नवजात शिशुको नामकरण विधि सम्पन्न भएको छ,” उहाँले भन्नुभयो ।
तर शिशुकी आमा रीता दाहाल अमेरिकामा अस्पतालको नियमअनुसार छोरी जन्मनु पाँच दिन अघि नै छोरीको नाम रुहानी राखिएको सुनाउनुभयो । “बच्चा जन्मिनु अघि नै डाक्टरलाई नाम दिनुपर्ने रहेछ । जन्मने बित्तिकै डाक्टरले ‘वेलकम रुहानी’ भनेको सुन्दा म अत्यन्तै खुसी भएँ । गर्व महसुस गरेँ”, उहाँले भन्नुभयो । नामकरण गर्दा पुरोहितले भने झैँ आफै कोठामा शुद्ध पानी छर्किएको बुबा ज्ञानेन्द्रले सुनाउनुभयो ।
भूमण्डलीकरणसँगै अन्तर्राष्ट्रिय बसाइसराइ सामान्य बन्दै गएको छ । मानिसहरु रोजगारी र उच्च शिक्षाका लागि गाउँबाट सहर र सहरबाट विदेशसम्म पुग्नु सामान्य बन्दै गएको छ । भौतिकरुपमा जतिसुकै टाढिए पनि सांस्कृतिकरुपमा जोडिनका लागि भने इन्टरनेट र सामाजिक सञ्जालले सहज बनाएको छ ।
शिशुका हजुरबुबा योगेन्द्र छोराबुहारी र नातिनी आफूसँगै नेपालमा नभए पनि आफ्नो परम्परागत संस्कारमा उनीहरुलाई सामेल गराउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । अनलाइनमार्फत यस्ता कर्म सहरमा सामान्य भए पनि गाउँका मानिसलाई नौलो र रमाइलो अनुभूति दिलाएको छ । रासस