• ६ जेठ २०८१, आइतबार

भुस्याहा कुकुरको बिगबिगी

blog

लोकतन्त्र चोक नजिकको चोकमा जम्मा भएका भुस्याहा कुकुर । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक ६ गते । कात्तिक महिना लागेसँगै सदरमुकाम सिमकोट बजारमा भुस्याहा कुकुरको बिगबिगी देखिन थालेको छ । किसानले बालीनाली भित्र्याएसँगै खेती लगाएको जग्गामा पशुवस्तु छोडिएपछि सिमकोट बजारमा ती कुकुरको बिगबिगी बढेको हो ।

सिमकोटका व्यापारी ओमराज शाहीले राति १० बजेपछि बिहानसम्म बजारका चोक चोकमा भुस्याहा कुकुरको बिगबिगी बढेको बताउनुभयो । उहाँले कुकुर यसरी बजारमा बढी देखिएपछि एक्लै हिँड्न कठिन हुने गरेको बताउनुभयो । 

बजारभरि भुस्याहा कुकुर आउन थालेपछि अत्यावश्यक काम परेको समयमा पनि बाहिर निस्कन कठिन हुने गरेको बताउँदै शाहीले त्यसलाई व्यवस्थापन गर्नु आवश्यक रहेको बताउनुभयो । गतवर्ष पनि यही समयमा बजारमा निस्किएका भुस्याहा कुकुरले चार जनालाई टोकेर घाइते बनाउँदा जिल्ला बाहिर बिरामीलाई रिफर गर्नुपरेको थियो । 

उहाँले १५ २० वटा कुकुर चोकमा जम्मा हुने गरेको कारण बिहानै काममा निस्कने मानिसहरुले हैरानी खेप्नु परिरहेको बताउनुभयो । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले यसरी रातभरि र बिहानसम्म छाडिएका कुकुर कुनै व्यक्तिका भए घरमा बाँधेर राख्न र यसरी छाडा नछोड्न आग्रह गर्नुभयो । 

यो आग्रह गर्दा पनि कुकुरलाई छोड्ने र त्यसबाट भोलि कुकुरले टोकेर कुनै घटना भए त्यसको जिम्मा कुकुर धनीले लिनुपर्ने उहाँले बताउनुभयो । उहाँले छाडा रुपमा देखिएको भुस्याहा कुकुरको व्यवस्था गर्नका लागि गाउँपालिका लाग्ने बताउँदै विगतमा कुकुरबाट भएका घटनाले गर्दा पनि ब्यवस्थापन गर्नै पर्ने बाध्यता रहेको बताउनुभयो ।