• २२ वैशाख २०८१, शनिबार

कलाकारको दसैँ

कोही काममा व्यस्त, कोही परिवारसँग मस्त

blog

काठमाडौँ, कात्तिक ५ गते । दसैँ भन्नेबित्तिकै सम्पूर्ण नियमित कामकाजबाट केही दिन बिदा लिएर धार्मिक आस्था र परम्परा अनुसार देवीको पूजा आराधनामा जुट्ने, पारिवारिक जमघट र विशेष खानपानमा रम्ने अवसरका रूपमा लिइन्छ । कामविशेषले मूलथलोबाट टाढा रहेका पनि दसैँकै बहानामा आफ्नो गाउँघर फर्किने गर्छन् । आफन्तसँग बसेर रमाउँछन् । यही परिवेशमा सधँै व्यस्त रहने कलाकार पनि दसैँको तयारीमा जुटेका छन् ।  कलाकारले दसैँ कसरी मनाउँदै छन् त ?

अभिनेता तथा लेखक खगेन्द्र लामिछाने यस वर्ष आफ्नो मूल घरमा नजाने सोचमा हुनुहुन्छ । उहाँको मूल घर स्याङ्जा भए पनि उहाँ आफ्नो चलचित्र ‘पशुपति प्रसाद २ ः भस्मे डन’ को प्रदर्शन सुरु भएका कारण काठमाडौँमै बस्ने योजनामा हुनुहुन्छ । यस वर्ष उहाँको परिवारमा टीका नहुने भएकाले घर नजाने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “दसैँ त बाल्यकालमा अधिक रमाइलो हुन्थ्यो । दक्षिणा र खानपानको लोभ लाग्थ्यो ।” अहिले त कामले गर्दा आफन्त भेट्ने र कुराकानी गर्न पाए हुन्थ्यो भन्ने समयको मात्र लोभ लाग्छ ।” 

हास्य कलाकार मनोज गजुरेल दसैँ ऐतिहासिक परम्परा र संस्कृति भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दसैँले आफन्तजनसँग भेट गर्ने विशेष अवसर पनि हो । म त्यसलाई पूर्ण रूपमा सदुपयोग गर्न चाहन्छु ।”  

दसैँको दक्षिणासँग जोडिएर आउने गतिवधि र पशुलाई बलि दिने चलन भने हटाउनुपर्ने कलाकार गजुरेलको भनाइ छ । विगत दुई वर्षदेखि शाकाहारी बन्नुभएको गजुरेल भन्नुहुन्छ, “मासु खानेका लागि दसैँ नै कुर्नु पर्छ भन्ने पनि छैन । दसैँमा नै टन्न मासुभात खानुपर्छ भन्ने पनि छैन ।” 

गायिका आस्था राउत भने अष्टमीदेखि नेपालको पूर्वी क्षेत्रमा सुरु हुने साङ्गीतिक भ्रमणको योजना बनाउनुभएको छ । उहाँको नयाँ गीत ‘लै बरी लै’ घटस्थापनाको दिन सार्वजनिक भइसकेको छ । उहाँ भन्नुहुन्छ, “दशमीका दिन फिदिममा दशमी मेला समितिले आयोजना गर्ने महोत्सवमा प्रस्तुति दिँदैछु ।’’ 

आस्थाले आफ्नो बाल्यकालका धेरै पटकको दसैँ आफ्नो गृहनगर दोलखामा मनाउने गरेको स्मरण गर्नुहुन्छ । दसैँमा स्वस्थकर खानपानको महìवलाई जोड दिँदै उहाँ भन्नुहुन्छ, “धेरै जसो मासु र पेय पदार्थमा लिप्त भएको देख्छु । त्यसले कसैको पनि हित गर्दैन ।” उहाँ आफू भने सन्तुलित आहारमा रमाउनुहुन्छ । उहाँका लागि दसैँ भनेको मासुको भोज मात्र होइन, यो आपसी प्रेम र सम्मान व्यक्त गर्ने समय हो ।

नायिका सुरक्षा पन्त यस वर्षको दसैँमा एकदमै फरक ढङ्गले मनाउने तयारीमा हुनुहुन्छ । नायक मानव सुवेदीसँग यसै वर्षको विवाह बन्धनमा बाँधिनुभएकी उहाँ श्रीमानकाे परिवारसँगै दसैँ मनाउने तयारीमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विवाहपछिको मेरो पहिलो दसैँलाई नयाँ परिवारसँग मनाउँदा विशेष हुने छ ।” मामाको घरमा बिताएको दसैँका सम्झना उनलाई प्रिय लाग्छ  ।  सुरक्षा किनमेलमा बढी रमाउनुहुन्छ तर उहाँको व्यस्त तालिकाले उहाँलाई पछिल्लो समय यसबाट पनि टाढा राखेको उहाँको भनाइ छ । 

कलाकार दीपकराज गिरी यस वर्षको दसैँलाई सामान्य किसिमले मनाउने तयारीमा हुनुहुन्छ । उहाँ शाकाहारी हुनुभएको १५ वर्षभन्दा बढी भइसक्यो । उहाँ आफ्ना शुभेच्छुकलाई पनि मासु, मदिरा र जुवाबाट टाढै रहन सुझाउनुहुन्छ । उहाँ चाडपर्वको अवधिभर कुनै पनि नयाँ काम नगर्ने बरु परिवारसँग गुणस्तरीय समय मनाउने योजनामा हुनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “मेरो दसैँ चन्द्रागिरिमा हुन्छ, जहाँ परिवार, आफन्त र साथी भेला हुन्छन् । हामी सँगै बसेर चलचित्र हेर्ने छौँ ।” विगतका दसैँका स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “बाल्यकालमा धेरै रमाइलो हुन्थ्यो । जति उमेर बढ्यो त्यति जिम्मेवारी थपिँदै गयो । दसैँको रमाइलोपनमा पनि फरकपन आउन थाल्यो ।” उहाँ नवरात्रभर व्रत बस्ने परम्परालाई प्राथमिकता दिनुहुन्छ र चाडपर्वलाई सादगीका रूपमा मनाउन चाहनुहुन्छ ।