• १९ असार २०८१, बुधबार

कृषकका समस्या पहिचान अभियान सुरु

blog

किसानसँगको बैठकमा किसानका समस्या बताउँदै गाउँपालिका अध्यक्ष पौडेल । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक ४ गते । लुम्बिनी प्रदेशमा कृषिसँग सम्बन्धित विभिन्न प्रकारको अनुसन्धानको काम गर्दैआएको बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले कृषकका समस्या पहिचान गर्ने अभियान सुरु गरेको छ । 

निर्देशनालयले कृषिसँग सम्बन्धित समस्याको अनुसन्धान गर्न परियोजना निर्माणका लागि कृषकका समस्या पहिचान गर्ने उद्देश्यले बाँकेका विभिन्न ठाउँमा कृषकको घरदैलोमा पुगेर समस्या पत्ता लगाउने काम सुरु गरेको हो । 

खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयका वैज्ञानिक जगन्नाथ बन्जाडेले अनुसन्धान परियोजना निर्माण गर्दा अपनाइने विभिन्न चरणमध्ये गाउँघरमा किसानको खेतबारीसम्म पुगेर योजना बैठक आयोजना गरी त्यहाँबाट समस्या संकलन गर्ने काम भइरहेको बताउनुभयो । 

उहाँले किसानको घर आँगनमा पुगेर छलफल गरी सङ्कलन गरिएका समस्याले अनुसन्धानमूलक विषय निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । किसानसँग भइरहेका ती बैठकमा बाली, बागवानी, पशुपालन, मत्स्यपालन लगायतका क्षेत्रमा किसानले औंल्याएका समस्या सूचीकरण गरी सोसम्बन्धी अनुसन्धानबाट विकास एवं सिफारिस भइसकेका प्रविधि बारेमा जानकारी प्रदान गर्ने काम गरिएको कृषि ज्ञान केन्द्र बाँकेका बागवानी विकास अधिकृत रामप्रकाश यादवले बताउनुभयो । 

उहाँका अनुसार किसानसँगको बैठकमा बालीतर्फ वैज्ञानिक डा. नवराज आचार्य र अधिकृत सुमन बोहरा, पशुपालनतर्फ वैज्ञानिक जगन्नाथ बन्जाडे, अधिकृत दुर्गा रावत र डा. चेतमान जिसी, घाँसेबालीतर्फ अधिकृत हरिप्रसाद शर्मा, यान्त्रिकरणतर्फ अधिकृत सागर महर्जन, मत्स्यतर्फ प्राविधिक सुदीप लामिछाने र बागवानीतर्फ प्राविधिक लक्ष्मण भण्डारीले सहजीकरण गर्नुभएको थियो । 

किसानका समस्या समाधान गर्न बाँकेको राप्तीसोनारीमा आयोजना गरिएको बैठकमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बाँके जिल्लामा अनुसन्धान निर्देशनालय हुनुको सदुपयोग जिल्लाका स्थानीय तहले गर्नुपर्ने र प्राविधिक ज्ञान, स्रोत, बीउ, नश्ल र अन्य प्रविधिको पहुँचमा सबै कृषक रहनुपर्ने बताउनुभयो । 

सो प्रकारका कार्यक्रम लुम्बिनी प्रदेशका धेरै ठाउँमा गरिने कृषि अनुसन्धान निर्देशनालयका योजना शाखाका प्राविधिक अधिकृत रविन गिरीले बताउनुभयो । कृषकले औंल्याएका कतिपय समस्याको समाधानका लागि पहिले नै प्रविधि हातमा रहे पनि उपलब्ध प्रविधि कृषकसम्म पुग्न नसकेपछि कृषक समस्यामा परेको र कतिपय समस्या नयाँ एवम् निरन्तर आइरहने प्रकृतिका हुने हुँदा सो सम्बन्धमा निरन्तर अनुसन्धान गरिरहनुपर्ने गिरीको भनाइ छ ।