• १३ असोज २०८१, आइतबार

खोटाङमा एक करोड ७५ लाखका खसी बिके

blog

वराहपोखरी गाउँपालिकाका किसानको घरबाट खसी खरिद गरेर लादै ठेकेदारको समूह । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, कात्तिक ३ गते ।
खोटाङको वराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख बराबरको खसी निर्यात भएको छ । दसैं तिहारको अवसरमा जिल्लाको एउटै स्थानीय तह वराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख रुपियाँ बराबरको खसी निर्यात भएको गाउँपालिकाको पशु शाखाले जनाएको छ । 

गाउँपालिकाको ६ वटै वडामा पुगेर ठेकेदारहरुले कृषकका खसी खरिद गरेका हुन् । कृषकका घरबाट खरिद गरिएको सबै खसी राजधानी काठमाडौं लगिएको बराहपोखरी गाउँपालिकाका पशु शाखा प्रमुख आशिष बञ्जाराले जानकारी दिनुभयो ।

ठेकेदारको पाँच समूह गाउँपालिकामा खसी खरिद गर्न प्रवेश गरेको थियो । पालिकाको सबै वडाबाट खरिद गरिएको खसी खोटाङ र उदयपुरको सिमाना धाप्लाङघाटस्थित सुनकोसी नदीसम्म हिँडाएर पुर्‍याएका थिए । धाप्लाङघाटमा पक्की पुल नहुँदा गाडी वारपार गर्न नसक्दा उनीहरुले त्यहाँसम्म खसी हिँडाएर लगेका हुन् । धाप्लाङघाटस्थित सुनकोसी नदी पार गराएपछि भने आठ वटा ट्रक र दुई वटा बोलेरोमा हालेर काठमाडौं लगिएको बञ्जराले बताउनुभयो ।

गाउँपालिकाको सबै ६ वटै वडाबाट दसैंको अवसरमा आठ सय ७५ वटा खसी निर्यात भएको हो । कतिपय कृषकले ८० केजी तौलसम्मका खसी बिक्री गरेका छन् । एउटा खसीको मूल्य सरदर रु. २० हजार मान्दा एक करोड ७५ लाखभन्दा बढी रकम वराहपोखरी गाउँपालिकामा भित्रिएको छ । गाउँपालिकाका सबै ठाउँमा खसी बाख्रा पाल्ने गरिएको छ । एकै परिवारले पाँच लाखसम्म खसीबिक्री गरेका छन् । कतिपय किसानले आफैँ उदयपुरको गाईघाटमा लगेर पनि खसी बिक्री गरिरहेका छन् । तर धेरै जसो खसी कृषकका घरबाटै बिक्री भएको छ ।

वराहपोखरी गाउँपालिकाबाट हरेक वर्ष करोडौं रकमको अम्लिसो कुचो पनि निर्यात हुने गरेको छ । लामो समयदेखि धाप्लाङघाटस्थित सुनकोसी नदीमा पक्की पुल अलपत्र छ । उक्त पुल नबन्दा पालिकाबाट जिल्ला बाहिर अर्थात् तराईसम्म कृषि उपज निर्यात गर्न समस्या हुने गरेको किसानहरुको भनाइ छ ।