हुम्ला, कात्तिक ३ गते । कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत पर्ने छारे क्षेत्रमा निर्माण कार्य भइरहेको काम बन्द भएको छ । सडक निर्माणमा खटिएका कामदारहरु दसैं मनाउन घरतर्फ लागेका कारण सेनाले सडक निर्माण बन्द गरेको हो ।
नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्य दलका प्रमुख अमृत पराजुलीले दसैं मनाउन सडक निर्माणमा खटिएका कामदार सबै घरतर्फ लागेका कारण केही दिनका लागि निर्माण बन्द गरिएको बताउनुभयो ।
सेनाले कामदारमार्फत हाल खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना छारे क्षेत्रमा चट्टानी भीरमा विस्फोट गर्ने कार्य गरिरहेको थियो । उहाँले घटस्थापनदेखि पूर्णिमाको पछिल्लो दिनसम्म सडक निर्माणको काम बन्द रहने बताउनुभयो ।
सडक निर्माण स्थलमा खटिएका ५५ जना कामदार दसैं मनाउनका लागि घर फर्किएका छन् । कात्तिक १३ गतेबाट पुनः काम सुचारु गर्ने गरी कामदारसँग सहमति भएको बताउनुहुँदै उहाँले सडक निर्माण कार्यलाई तीव्रता दिने बताउनुभयो ।
हाल उक्त खण्डको काम गर्नका लागि हुम्ला जिल्लाका कामदारका साथै छिमेकी मुगु, कालिकोट, जुम्ला र बाजुरा जिल्लाबाट पनि कामदार आएर काममा खटिनुभएको थियो । सडक निर्माणको ७० मिटर चट्टानी भीरको विस्फोट गर्ने जिम्मा लिनुभएका मयालाल कठायतले नेपालीहरुको महान् चाड दसैं मनाउन घर जानैपर्ने भएका कारण कामबाट बिदा र्लिर कामदान घर फर्किएको जानकारी दिनुभयो ।
नेपाली सेनाको निर्माण कार्य दलले जिम्मा लिएको दुल्ली कुनादेखि लाली बगरसम्मको सडकमध्ये छारे क्षेत्रको डेढ सय मिटर चट्टानी भीरमा बाहेक अन्य स्थानमा सडक निर्माण कार्य पूरा गरिसकेको छ । छारेको चट्टानी भीरमा १० मिटर बाहेक अन्य सबैतिर विस्फोट कार्य सुरु गरिसकेको छ ।