• १५ मंसिर २०८१, शनिबार

गाउँघरमा पनि देखिन छाडे ढिकी र जाँतो

blog

भोजपुर,  कात्तिक २ गते । दशकौँअघिसम्म गाउँघरमा कुटानी, पिसानीका लागि प्रयोग हुने ढिकी, जाँतो लोप हुन थालेका छन् । कुटानी, पिसानीको सहज माध्यमका रूपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकी, जाँतोको प्रयोग हराउन थालेको हो ।

मानिस उत्पादनमुखीभन्दा पनि बाहिर बजारबाट आउने चामल, दाललगायत सामग्री प्रयोग गर्ने भएकाले पनि ढिकी, जाँतोको चलन हराउँदै गएको छ । 

विगतमा ढिकी र जाँतोमा धान कुट्ने, गहुँ, कोदो, मकै, फापर, दाललगायत पिस्ने काम हुने भए पनि पछिल्लो समयमा आधुनिक मिलको सहायताले मानिस कुटानी, पिसानी गर्दै आएका छन् । दशकअघिसम्म एउटा घरमा ढिकी, जाँतो अनिवार्य हुने गरेको भए पनि त्यो चलन हराउँदै गएको स्थानीय ९८ वर्षीय वृद्ध बेनीबहादुर विष्टले बताउनुभयो । 

अबको १२/१५ वर्षमा यी उपकरण चलाउने प्रचलन पूर्णरुपमा लोप हुने उहाँको भनाइ छ । “पहिला गाउँघरमा ढिकी, जाँतो अनिवार्य जस्तो नै थियो”, उहाँले भन्नुभयो, “सबैका घरमा ढिकी, जाँतो हुन्थ्यो । तर अहिले त्यस्तो अवस्था रहेन । प्रविधिको विकाससँगै ढिकी जाँतोका चलन इतिहास बन्ने अवस्था छ ।”

गाउँघरमा विद्युत् पुगेसँगै यहाँका अधिकांश ठाउँमा विद्युत्बाट चल्ने मिल राखेर धान कुटानी, तेल पेल्नेदेखि पिठो पिसाउन थालेपछि गाउँमा परम्परागतरूपमा चल्दै आएका ढिकी, जाँतो हराउन थालेका हुन् ।  

कुटानी, पिसानीका लागि आधुनिक मिलले सहज भए पनि ढिकी, जाँतो भने लोप हुँदै गएको स्थानीयको भनाइ छ । मानिसले बढी मेहनत गर्नुपर्ने भए पनि ढिकी, जाँतोमा कुटेका खाने कुरा स्वास्थ्यकरसँगै स्वादिष्ट हुने टेम्केमैयुङ– ५ की स्थानीय मसिनी माया विष्ट बताउनुहुन्छ ।

“आधुनिक मिलमा कुटानी, पिसानीका लागि सहज छ”, उहाँले भन्नुभयो, “तर यसरी कुटिएको अन्नको स्वाद राम्रो हुन्न । ढिकी, जाँतोमा कुटेर, पिसेर खाँदा स्वाद नै फरक हुन्छ । मिलमा कुटानी, पिसानीको लागि छिटो हुने भएकोले ढिकी, जाँतोको चलन हराएको छ ।” गाउँका प्रत्येकजसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उहाँको भनाइ छ । 

भौगोलिकरूपमा विकट र विद्युत् पुग्न नसकेका गाउँमा भने अहिले पनि ढिकी तथा जाँतोको प्रयोग हुने गरे पनि विद्युत् पुगेका ठाउँमा परम्परागतरूपमा रहेका ढिकी तथा जाँतो प्रयोग गर्ने चलन हराएको स्थानीयवासी हिरालाल लुइँटेलले बताउनुभयो ।

“विद्युत् विस्तार भएका ठाउँमा ढिकी, जाँतोको प्रयोग हटेको छ”, उहाँले भन्नुभयो, “तर विद्युत् नपुगेका ठाउँमा भने अहिले पनि ढिकी, जाँतो प्रयोग गर्दै आएका छन् । प्रविधिको विकासले ढिकी, जाँतोको चलन हराउँदै गएको छ ।” सहजतासँगै आधुनिक विद्युतीय मिलको सञ्चालनले परम्परागत ढिकी तथा जाँतो इतिहास बन्ने अवस्था आएको लुइँटेलले बताउनुभयो । परम्परागतरूपमा प्रयोग गर्दै आएका ढिकी तथा जाँतोलाई संरक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।  

मेहनत धेरै परे पनि अन्य मिलको तुलनामा घरेलु तरिकाले काम गरिने भएकाले कम खर्चिलो हुने उहाँले बताउनुभयो । ढिकी र जाँतोमा नकुटी नहुने पूजाआजामा प्रयोग गरिने पिठोलगायत कुट्नका लागि ढिकी अनिवार्य जस्तो नै रहेको उहाँको भनाइ छ ।

“मेहनत बढी परे पनि ढिकी, जाँतोको सहजताले कुटिएका खानेकुरा लाभदायक हुन्छ”, उहाँले भन्नुभयो, “यस्तो चलन गाउँघरबाट नै हराउँदै जानु दुःखद हो । यी कुराहरूलाई हामी पनि संरक्षण गर्न आवश्यक छ ।” आधुनिक मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्त्व भने नष्ट हुने स्थानीयवासीको भनाइ छ । रासस