• ११ मंसिर २०८१, मङ्गलबार

द्वन्द्व व्यवस्थापनको आधार

blog

धार्मिक तथा जातीय असमझदारीले हुने द्वन्द्वको समाधानका लागि स्वतन्त्र बुद्धिजीवीहरूले नयाँ तथ्यहरू पस्किएका छन् । पक्ष–विपक्ष आमने–सामने भएर एकअर्कालाई चुनौती दिइरहँदा पनि संयमता प्रदर्शन भए अप्रिय घटना घट्दैनन् । स्थानीय प्रशासनको निषेधाज्ञादेखि स्थानीय जनताको समझदारी सँगै भाषा–संस्कृतिको प्रभाव पनि महत्वपूर्ण हुन्छ । 

शान्ति, न्याय र मिलापका लागि अन्तर्सांस्कृतिक सहिष्णुता अनुसन्धानको निष्कर्षका रूपमा अभ्यासमा आई सकारात्मक परिणाम ल्याएको हुँदा त्यसका लागि भाषा र संस्कृति प्रमुख आधार देखिन्छन् । बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक अभ्यासका आधारमा अगाडि बढिरहेको नेपालको अवस्थालाई विश्लेषण गर्दा सामाजिक सहिष्णुता र एकताका आधार रहेको प्रस्ट हुन्छ । ‘सम’ उपसर्ग र ‘कृ’ धातु मिलेर बनेको ‘संस्कृति’ शब्दको अर्थ भूषणभूत सम्यक् चेष्टा रहेको छ, जुन चेष्टाहरूद्वारा मनुष्य आफ्नो जीवनको समस्त क्षेत्रमा उन्नति गर्दै सुख शान्ति प्राप्त गर्दछ । ती चेष्टाहरू नै मनुष्यका लागि भूषणभूत चेष्टा कहलिन्छन् । एवं प्रकार मनुष्यको वैयक्तिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक आदि सबै क्षेत्रमा लौकिक, परालौकिक अभ्युदयको अनुकूल देहेन्द्रीय मन, बुद्धि, चित्ताहङ्कारको चेष्टा नै उसको संस्कृति हो । आध्यात्मिक, सांस्कृतिक प्रभावमा रहेका नेपाली जनताले आफ्नो दैनिक जीवनयापन गर्दै निर्माण गरेका र अभ्यास गरिरहेका संस्कृतिलाई भाषाको माध्यमबाट आत्मसात् गरिरहने हुँदा संस्कृति निर्माणमा भाषाको योगदान स्पष्ट हुन आउँछ । लिखित आधार भएका विभिन्न भाषा र संस्कृतिको निरन्तर प्रकाशन र प्रचार प्रसारका कारण अभियन्ताहरू सांस्कृतिक नायकका रूपमा शान्ति र मेलमिलापका दूतका रूपमा कार्य गरिरहेको पाइन्छ । गोरखापत्र संस्थानको विभिन्न भाषाको नियमित रचना प्रकाशनले द्वन्द्व व्यवस्थापनको कार्य गरिरहेको तथ्य स्पष्ट हुन्छ ।

समाजमा रहेका विषमताहरू र तीनका कारणहरू द्वन्द्व विश्लेषणका लागि तथ्यहरू भए तापनि मिलेर बसिरहेको नेपाली समाज क्रमिक सुधारसँगै अघि बढिरहनुमा यही भाषिक र सांस्कृतिक पक्षले योगदान पु¥याइरहेको कुरालाई हृदयङ्गम गर्नु राज्य सञ्चालक र नीति निर्माताहरूको दायित्व हो । शान्तिपूर्ण तरिकाले विषमता र बेथितिलाई हटाउँदै सामाजिक न्यायको ग्यारेन्टी गर्दै समृद्धि हासिल गर्नु आजको आवश्यकता हो । द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिकाको अनुसन्धान सबै धर्महरूको सिद्धान्त र सहकार्यद्वारा द्वन्द्व व्यावस्थापन गर्ने माध्यम भए झैँ भाषा– संस्कृति पनि सबै धर्मको सिद्धान्तलाई परिणाममुखी बनाउने आधार हुन् । पूर्वाञ्चलका थारू समुदायले गाउने महादेवी स्तुति गीतिमन्त्र धर्मका साथै भाषाको थप बल प्रदान गर्ने आधार हुन् । 

बसहा चढल आबै हो, हो रे बुढा जोगी

कान कुण्डल गले रुद्रमाला, बैसली महादेव...

एवं प्रकार दुर्गा, विष्णुलगायत सबै देवी देवताको गीतका कारण जातीय सांस्कृतिक गौरवका साथै आपसी सहिष्णुताका प्रेरक बन्दछन् । मैथिली गीतहरूमा पनि देवीदेवताका साथै जनकपुरका विषयमा गाइने गीतहरू उपयोगी रहेका छन् । 

जनकपुरमे धुम मचल अछि, सङ्गीत पसाहिन आइ अछि । 

चाचीक हाथमे तेल फुलेल मामीक हाय कसार अछि ।

विवाहदेखि विभिन्न शुभ अवसरमा गाइने गीतहरूका माध्यमले समाजमा सद्भाव बढाउन मद्दत गरिरहेका हुन्छन् । पश्चिम नेपालमा आस्थाको प्रतीक मस्टो कुलदेवताको प्रार्थना खसान क्षेत्रको भाषा संस्कृतिलाई समृद्ध बनाउँदै समाजमा शान्ति ल्याउने आधार हुन् । 

बाह्र भाइ मष्ट भाइयौ तमी साक्षी भया

नवै बहिनी दुर्गा भाइयौ तमी साक्षी भया...

नवदुर्गा भवानीसहित मस्ट कुलदेवताको प्रार्थना पश्चिम नेपालदेखि मुलुकभरि नै चर्चित रहेका छन् । फाग, मागल गाउँदै सिद्ध परम्पराको बोध गराउने चलनका कारण सामाजिक सद्भाव र आस्था बढ्न गई द्वन्द्व रूपान्तरणमा योगदान पु¥याइरहेका छन् । मालिका देवीको मागलको सङ्क्षिप्त वर्णन गर्नु मनासिव हुन्छ । 

कहाँ माताको जरमन कहाँ रजथान

विन्ध्याचल जरमन हिमजल रजथान......

आफ्नो बोलीमा गाइने गीतहरूका आधारमा निर्माण भएका संस्कृतिप्रति अकाट्य रूपमा श्रद्धा हुनु स्वाभाविकै हो । साथै स्थानीय, प्रादेशिक भाषा–संस्कृतिको संरक्षणसमेत हुन गई स्वराज्यको भावना पनि जागृत हुन पुग्छ । द्वन्द्व व्यवस्थापन जटिल कार्य भए पनि धर्म, भाषा तथा संस्कृतिको सहायताले निकास निकाल्न सहज बन्दछ । साथै दिगो शान्ति र मेलमिलापको वातावरण बनाउँदै समृद्धि हासिल गर्न सहज बन्दछ । मिलाप गीतको शब्द र भावना भाषा र संस्कृतिको अनुरूप संयोजन रहेकाले हृदय परिवर्तन गराउन सामथ्र्य राख्छ । 

चिन्मय जीवन स्वराज होस्

बान्धव दिल सधैँ साथ होस् ....

दर्शनको गहिराइमा गएर चिन्मय जीवन र स्वराज्यको परिभाषा सत्राग र अनुरागमा खोज्ने मिलाप गीत भाषा र संस्कृतिको समेत मिठासलाई प्रतिनिधित्व गर्ने स्रोत हो । जीवन र जगत्लाई भाषाका माध्यमबाट परिभाषित गर्दै दैनिक अभ्यासमा उतार्नुका साथै संस्कृतिको पहिचान दिन सक्नु सौम्य शक्ति (सफ्टपावर) को उच्चतम अवस्थिति हो । भाषा, धर्म र संस्कृति मुलुकको सौम्य शक्ति भएकाले राष्ट्रिय अखण्डता र स्वाभिमानको रक्षामा महìवपूर्ण मार्गदर्शन पु¥याउने आधार हो । विश्वमा छरिएर रहेका नेपालीहरूको आत्मासँग यही भाषा, संस्कृति र धर्मका माध्यमले जोडिनुका साथै मुलुकका पक्षमा पैरवी गर्ने स्रोतका रूपमा कार्य गरिरहेको कुरा सबैले अनुभव गरेको यथार्थ हो । भारतका विभिन्न प्रान्त तथा विश्वका सहरहरूमा भानु जयन्तीमा गुञ्जिने भानुभक्त रामायणका श्लोकहरूले नेपालप्रतिको स्नेह र सामीप्यलाई ताजा बनाउने गर्दछ । विश्वमा मनाइने भानु जयन्ती भाषा, धर्म र संस्कृतिको अनुपम उदाहरण हो । 

कहिल्यै परतन्त्र नभएको नेपाली गौरव गाथालाई स्मरण गराउने योगी नरहरिनाथको कविताले राष्ट्रिय एकताका लागि प्रेरित गराउँछ । 

गोर्खा–सैनिक कोटमा कटकमा कैलाशका कुटमा

गङ्गाका तटमा हिमाल मुकुटमा राष्ट्र ध्वजा भोटमा ।

हिमालदेखि समुद्रसम्मको एकीकरण अभियानलाई जनाउने कविताका भाषा र भावना सबैलाई राष्ट्रप्रेम र स्वाभिमानप्रति आकर्षित गराउने दरिला आधार हुन् । सम्पदाहरूले भरिपूर्ण हाम्रो देश अस्पर्शनीय सम्पदाहरूका आधारमा पनि वर्ष दिनभरि नै शान्ति दिनका रूपमा मनाउन सकिने स्रोत भएकाले त्यसको समुचित उपयोग गरिनु पर्छ । भाषा, धर्म र संस्कृतिको पहिचान, संरक्षण र संवर्धनमार्फत पर्यटनको अभिवृद्धि, शान्ति र मेलमिलाप कायम गर्न सकिने हुँदा मौलिक आर्थिक संरचनाको अभ्यास गर्दै समृद्धिमा पुग्न सकिन्छ । 

नेपालमा रहेका द्विराष्ट्रिय चेम्बर अफ कमर्स र अनररी काउन्सिलसँगको सहकार्यले अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा वृद्धि हुन गई आर्थिक समृद्धिमा सहयोग पुग्ने छ । एसियाली अनुसन्धान केन्द्रसँगको छलफलले विश्वका अनुसन्धानकर्ताको आगमन बढ्नुका साथै नेपाली प्रयासले अन्तर्राष्ट्रिय महìव पाउने छ । संस्कृति मन्त्रालय तथा प्रज्ञा प्रतिष्ठानहरू भाषा, धर्म र साहित्यको सेवामा व्रिmयाशील संस्था र व्यक्तिहरूको खोजीमा जुट्दै सहयोगका लागि अघि बढ्ने छन् । देशका विभिन्न स्थानमा आयोजना हुने महोत्सवमा भाषा, धर्म र संस्कृतिको प्रदर्शनीले महìव पाउने छन् । सात सय त्रिपन्न स्थानीय तह आ–आफ्नो स्थानीय भाषा, धर्म र संस्कृतिको संरक्षणमा सहकार्यका लागि अगाडि बढ्ने छन् ।  

Author

केशवप्रसाद चौलागाईँ