• १२ असार २०८१, बुधबार

सस्तियो खसीबोकाको मूल्य

blog

ग्राहक पर्खदै कृषक । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
सिरहा, कात्तिक १ गते ।
 आर्थिक मन्दिका कारण सर्वसाधारणको आम्दानीमा कटौती भएपछि दसैँको समयमा अत्यधिक खपत हुने खसीबोकाको मूल्य सस्तिएको छ ।

बजारमा खरिद गर्नेभन्दा बढी खसी–बोका भएकाले दसैँको मुखमा सस्तोमा बेच्न बाध्य भएको कृषकको दुःखेसो छ । गाउँमा बस्ने सर्वसाधारणले दसैँका लागि आफैँले खसीबोका पाल्ने र बजारमा रहेका उपभोक्ताले स्थानीय मासु पसलबाट आवश्यकता अनुसार मासु खरिद गर्ने कारण खसी बजारमा बिक्री गर्न ल्याउने कृषकले मूल्य नपाएका हुन् ।

लहानको हाटमा यस वर्ष २२ देखि २५ हजार पर्ने खसी १५ देखि १८ हजार रुपियाँमा र १५ हजारदेखि १७ हजार पर्ने बोका यो पटक १० हजारदेखि १२ हजारमै कृषकले बिक्री गरिरहनुपरेको गुनासो गरेका छन् । दसैँको बेला लहानको खसीहाटमा सिरहा, सप्तरी तथा उदयपुरसम्मका क्रेता र विक्रेता खसी किनबेच गर्न आउने गरेका छन् ।

‘‘दसैँको बेला राम्रो मूल्य पाउँला र दसैँको खर्च जोहो गर्न सजिलो हुन्छ भनेर खसीबोका पालेका थियौँ । तर सोचे जस्तो भाउ नपाएपछि खसीबोका फेरि घरमै फिर्ता लिएर गए ।,’’ लहान–१६ स्थित तरेगना भवरेका कृषक सरस्वती थापा मगरले भन्नुभयो, ‘‘बरु केही दिनपछि व्यापारी घरमै आउँछन्, उनैलाई मिलाएर आफूले पालेको खसीबोका बिक्री गर्छु ।’’

दुर्गा पूजामा बोका बलि दिँदै आएका नरहा–५ का बलदेव यादवले यो वर्ष सोचेकोभन्दा कम मूल्यमा बोका पाएकाले ठुलै आकारको खरिद गरेको बताउनुभयो । विगतका वर्षमा १५/१७ हजार पर्ने बोका यो पटक ११ हजारमै खरिद गरेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘सधैँ महँगोमा बोका किन्नुपर्थ्यो तर यो पटक भने सोचेकोभन्दा धेरै कम मूल्यमा बोका पाएँ ।’’

लहानको खसी बजारका ठेकेदार जामुन सहनीका अनुसार दसैँको बेला अघिल्लो वर्षको तुलनामा यो वर्ष खसीबोका कम बिक्री भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘दसैँका बेला हामीलाई खसीबोकाको पुर्जा बनाउन हम्मे हम्मे पर्थ्यो तर हिजो आज हटियामा एक सय वटा पुर्जा काट्न पनि मुस्किल परेको छ ।’’