गाईघाट समाचारदाता
गाईघाट,कात्तिक १ गते । चौदण्डीगढी नगरपालिका–९ स्थित त्रियुगा नदीमा अस्थायी पुल निर्माणको काम सुरु भएको छ । सो स्थानमा स्थायी पक्की पुलको आवश्यकता भए पनि बजेट अभावमा करिब चार लाख रुपियाँको लागतमा सम्पन्न हुने गरी चौदण्डीगढी नगरपालिकाले अस्थायी पुल निर्माणको काम सुरु गरेको हो ।
वडा नं. ९ र १० का सर्वसाधारणलाई बेल्टार बजारसम्म जान आउन र सरकारी सेवासुविधा लिन नगरपालिकाको सदरमुकामसम्म जोड्ने गरी निर्माण सुरु गरिएको सो अस्थायी पुलको निर्माणमा सम्बन्धित वडा नम्बर ९ को कार्यालय र नगरपालिकाको करिब चार लाख रुपियाँ खर्च हुँदै आएको छ । यस किसिमको पुल निर्माण भएपछि अबको छ महिनासम्म वारिपारि गर्न सहज भएकोे वडा नं. ९ का अध्यक्ष प्रकाशकुमार राउतले बताउनुभयो ।
त्रियुगा नदीमा पानीको बहाव घटेको र अब करिब छ महिनासम्म सहजै सञ्चालन गर्न सकिने गरी पानीको सतहभन्दा मुनिबाट दुई दुई मिटरको फरकमा दुई दुई वटा ह्युमपाइप राखेर माथिबाट गिट्टी र बालुवाले पुरेपछि ह्युमपाइपबाट पानी बग्ने र माथिबाट जिप, कार, मिनी ट्रक, मिनी बस तथा ट्याक्टरलगायतका हलुका सवारी सहजै आवतजावत गर्न सक्ने गरी अस्थायी पुल बनाउन लागिएको उहाँले बताउनुभयो ।
दसैँ नजिकिँदै गर्दा स्थानीय बासिन्दालाई नदी वारपार गर्न सहज होस् भनेर पालिकाले चाडपर्वको समयमा अस्थायी भए पनि ह्युमपाइप जडान गरेर माटेपुल निर्माण गरेको चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाले बताउनुभयो । यस क्षेत्रबाट निर्वाचित सङ्घीय र प्रदेश सांसदले समेत सो ठाउँमा पक्की पुल निर्माण गर्ने कुरा चुनावी नारा मात्र बनाउने गरेको तर निर्वाचित भएपछि सो ठाउँलाई चटक्कै बिर्सिने गरेको तितो यथार्थ रहेको उहाँले उल्लेख गर्नुभयो ।
नगरपालिकाको संरचना अनुसार उपप्रमुख र दुई वटा वडाध्यक्ष त्रियुगावारिका हुने र अरू जनप्रतिनिधि बेल्टार बसाहातिरका हुने भएकाले आफूहरूलाई नगरपालिकाको कार्यालयसम्म जान आउन ज्यादै कठिन भइरहेको अवस्थामा यस किसिमको अस्थायी माटेपुल बन्नु पनि निकै खुसीको कुरा भएको वडा नं. १० का वडाध्यक्ष धर्मराज खड्काले बताउनुभयो ।
स्थानीय युवाले करिब एक लाख रुपियाँको लागतमा निजी लगानीमा बाँसेपुलसमेत निर्माण गर्न सुरु गरेका छन् । पानी परेर सामान्य बाढी आइहाले पनि माटे पुल बगेर जाने तर बाँसकाे पुल नबग्ने भएकाले आफूहरूले बाँसको पुल बनाउन थालेको स्थानीय युवा युवराज खत्रीले बताउनुभयो ।