• १५ मंसिर २०८१, शनिबार

कोशीमा माछा घटेपछि चिन्ता

blog

बाबुराम कार्की

वराहक्षेत्र, कात्तिक १ गते । सप्तकोशी नदीमा माछा मारेर पुस्तौँदेखि जीविका चलाउँदै आएका मलाह (गुडी) को पेसा सङ्कटमा पर्न थालेको छ । कोशी नदीमा माछा पाउन छाडेपछि मलाहको पेसा सङ्कटमा परेको हो ।  

वर्षको नौ महिना कोशी नदीमा माछा मार्दै आएका मलाहलाई पहिलाको जस्तो कोशीमा माछा नपाउँदा हातमुख जोड्नै समस्या हुन थालेको छ । केही वर्षअघि जस्तो कोशीमा माछा पाउन छोडेपछि माछा मारेरै परिवार पाल्दै आएका मलाह जातिलाई आफ्नो पुख्र्याैली पेसा नै सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ । 

कोशी गाउँपालिका–३ का गुलाबी मुखियालाई पछिल्लो समय माछा मार्ने पेसा नै हराउने हो कि भन्ने चिन्ताले पिरोलेको छ । ‘माझी मलाह सञ्जाल’ मध्यवर्ती क्षेत्रका अध्यक्षसमेत रहेका ५६ वर्षीय मुखियाले १२ वर्षको उमेरदेखि माछा मार्दै आउनुभएको छ । उहाँको शिक्षा, जागिर, रोजगारी भनेकै यही पेसा हो । 

सानैदेखि आफूले गर्दै आएको काम नै यही भएकाले उहाँहरूले जानेको सिप भनेकै माछा मार्नु हो । उहाँ प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्ता माछा मारेरै जीविका चलाउनेहरू चार सय घरपरिवार छन् ।  मलाहको जीविकाको प्रमुख स्रोत भनेकै कोशीको माछा हो । मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका चार सय मलाह (गुडी) परिवार कोशीको माछामै आश्रित छन् । पुस्तौँदेखि कोशीको माछा मारेरै परिवार र आफू पालिँदै आएका छन् ।  

कञ्चनरूप–१, सप्तरीका रामजी मलाह उमेरले ४४ पुग्नुभयो । अभैm पनि उहाँको दैनिकी फेरिएको छैन । उमेर १० वर्ष हुँदादेखि माछा मार्दै आउनुभएका उहाँ चार दशक बितिसक्दा पनि माछा मार्ने पेसामै रमाउनुभएको छ । उहाँको दैनिकी नै माछा मारेर बित्ने गरेको छ । प्रत्येक बिहान उठेपछि उहाँको दैनिकी पुरानो साइकल, जाल र हन्डी (भाँडो) बोकेर कोशी नदीमा माछा मार्न जानु हो । उहाँ हरेक बिहान ७ नबज्दै कोशीमा माछा मार्न पुग्नुहुन्छ । कोशी महारानीलाई ढोगेर माछा मार्नु मलाहको दैनिकी हो । 

“पहिला जस्तो कोशीमा माछा नै छैन । बाबुबाजेदेखि यही माछा मार्ने पेसालाई अँगाल्दै आएकाले अरू काम जानिएन,” उहाँ भन्नुहुन्छ, “दिनभरि माछा मारेर बेलुका घरमा चामल, दाल, तरकारी, तेल किनेर लगिन्थ्यो । दुःखसुख दैनिक चल्दै थियो । पहिला एउटै जाल हान्दा एक हन्डी माछा हुन्थ्यो, अहिले दिनभरि मार्दा दुई केजी माछा पनि पर्दैन । कसरी हामीले गुजारा चलाउनु ?” 

मलाह सञ्जालका अध्यक्ष गुलाबी मुखियाका अनुसार बेलौलना (काटी), चेचरा, कुस्राह, राजबाम, ढले जातका माछा कोशीमा देखिन छाडेका छन् । उहाँले भन्नुभयो, “पहिला यिनै माछाले हन्डी भरिन्थ्यो । अचेल यी माछा कोशीमा देखिनै छाडेका छन् ।”

धेरै जातका माछा कोशीबाट लोप हँुदै गएका छन् । कोशीमा माछा पाउन छाडेसँगै मलाहलाई दैनिकी चलाउन धौधौ परेको छ । “माछा मारेर जीविका चलाउनेलाई कुनै आयस्रोत हुने वैकल्पिक व्यवस्था राज्यले गरिदिए हाम्रो दैनिकी चल्ने थियो,” मुखियाले भन्नुभयो ।  

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका सहायक वन्यजन्तु संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार पहिलाको तुलनामा कोशीमा माछा घटेको छ । उहाँले भन्नुभयो, “विभिन्न सङ्घ संस्थाले केही महिनाअघि आरक्ष कार्यालयसँगै सहकार्य गरेर कोशीमा जङ्गली माछाका भुरा हालेको छ । नदीमा रहेका अरू जीवको आहारामा पनि सहयोग पु-याउँछ भनेर हालिएको हो ।”

पुरानै पास भएका मलाहलाई माछा मार्ने अनुमति दिने गरिएको छ । वर्षौंदेखि यही पेसामा रहेकाले उनीहरूलाई अनुमति दिइएको हो । माछा मार्ने पेसाबाहेक अरू कुनै पेसा नभएकाले पेसा परिवर्तन गर्ने सचेतनामूलक कार्यव्रmम गरेर वैकल्पिक पेसामा लाग्न प्रेरित गर्दैै आए पनि वर्षाैंदेखि गर्दै आएको पेसा परिवर्तन गर्न नसकिरहेको अधिकृत मिश्रले बताउनुभयो । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार सप्तकोशी नदीमा १२७ प्रजातिका माछा पाइन्थ्यो । अहिले भने कोशीमा कति प्रजातिका माछा छन् भन्ने अनुमान छ ।