• १२ असार २०८१, बुधबार

इनरुवामा चार सय केभी सबस्टेसन तयार

blog

काठमाडौँ, कात्तिक १ गते । देशकै दोस्रो ठुलो सबस्टेसन इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन तयार भएको हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) मा आधारित स्वचालित नेपालको दोस्रो ठुलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको छ । 

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजना अन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । जसको क्षमता ९४५ एमभिए छ । इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् आदानप्रदान हुन सक्ने छ । इनरुवा–ढल्केबर प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लामा पर्ने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रूपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डका रूपमा रहेको बताउनुभयो । 

“सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्तिसमेत गरिने छ,” उहाँले भन्नुभयो, “यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने र यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा बङ्गलादेशबिचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ ।

अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका÷हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी कोरिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी कोरिडोरको इनरुवा–वसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माणाधीन छ । यस्तै तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण हब–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ । 

आयोजना प्रमुख शुक्र देवकोटाले इनरुवा सबस्टेसनलाई आगामी दिनमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको बताउनुभयो । बर्खाको समयमा तराईमा हुने डुबान, विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागु गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिक आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो । २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणमा क्षति पुगी पुनः आयात गर्नु पर्दा निर्माणमा केही ढिलाइ भएको आयोजना प्रमुख देवकोटाले उल्लेख गर्नुभयो ।