• १२ साउन २०८१, शनिबार

मदन पुरस्कार वितरण

blog

काठमाडौँ, असोज ३० गते । कलाकार टेकवीर मुखियालाई जगदम्बाश्री र ऐंठन पुस्तकका लागि विवेक ओझालाई मदन पुरस्कार प्रदान गरिएको छ। मदन पुरस्कार गुठीले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँहरूलाई २०७९ सालको जगदम्बाश्री सम्मान र मदन पुरस्कार प्रदान गरियो। गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टाद्वयलाई प्रमाणपत्रसहित जनही चार लाख रुपियाँ पुरस्कार प्रदान गर्नुभयो। 

कलाकार मुखियाले अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्रमार्फत साहित्यानुरागीमाझ पु¥याउन महत्वपूर्ण योगदान दिएकाले जगदम्बाश्री सम्मान अर्पण गरिएको आयोजकले जनाएको छ। 

उहाँले लामो समय साझा प्रकाशनमा आबद्ध भएर पुस्तकका कभर डिजाइन गर्नुभएको थियो। उहाँ छ दशकदेखि कला क्षेत्रमा सक्रिय हुनुहुन्छ। 

त्यस्तै विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्‍न र अहिले पनि त्यस दुःस्वप्‍नले ऐंठनको पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेकाले ओझालाई मदन पुरस्कार अर्पण गरिएको गुठीले जनाएको छ। मदन पुरस्कारका लागि ३१३ पुस्तक प्राप्त भएका थिए।

कार्यक्रममा सम्मानित मुखियाले आफूले उच्च स्थानमा राखेको पुरस्कार प्राप्त गरेपछि आफ्नो जीवन, सङ्घर्ष र कला जगत्मा विताएका समयलाई सम्झन थालेको बताउँदै भन्नुभयो, “बितेको समयको समीक्षा आफैँले गर्दै छु।” 

यस्तै पुरस्कृत ओझाले पनि पुरस्कार प्राप्त गरेको खबरले आफूलगायत परिवारका सम्पूर्ण सदस्य खुसीले रोएको सम्झनुभयो। उहाँले भन्नुभयो, “पक्कै पनि ती सामान्य आँशु थिएनन्। यस्तो लाग्यो वर्षौंसम्म पर्खिएर खस्नका लागि पालो कुरिरहेको आँसु हो । कुनै कुनै आँसु गहमा आफ्नो पालो कुरेर बसिरहेको हुँदा रहेछन्।” मदन पुरस्कार २०१३ सालदेखि र जगदम्बाश्री २०४५ देखि प्रदान गर्न थालिएको हो।