• ११ मंसिर २०८१, मङ्गलबार

नवदुर्गाको वैदिक महिमा

blog

नेपालीको महान् पर्व बडादसैँ हामीले राष्ट्रिय पर्वका रूपमा मनाउँदै आइरहेका छौँ । यो अति प्राचीनकालदेखि नै मनाउँदै आएको पुरानो महìवपूर्ण चाडपर्वमध्येको एक हो । मध्यकालमा यस चाडलाई विशेष गरेर साङ्ग्रामिक महत्व दिइएको थियो । अतः यस पर्वमा अस्त्रशस्त्रको अभ्यास गरी खड्गसिद्धि प्राप्त गरिन्छ । राजा जयस्थिति मल्ल र उनका भारदारहरूले समेत खड्ग स्थापना गरेको प्रसङ्ग गोपाल राजवंशावलीमा पाइन्छ ।

कतै रामले रावणलाई मारेको त कतै देवी भवानीले विभिन्न रूप लिएर महिषासुर दानवको संहार गरेको प्रसङ्ग यससँग जोडिएको पाइन्छ । त्रेता युगमा रामचन्द्रले देवीको आराधना गरी रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग पनि यससित जोडिएको पाइन्छ । घटस्थापनादेखि पूर्णिमासम्म अनेक रमझम गरी टाढाटाढाबाट आफन्तहरू आई मान्यजनको हातबाट टीका थापी आशीर्वाद लिने गरिन्छ । दसैँ आशीर्वाद लिने चाड त हो नै, घरपरिवारमा रमाइलो गर्ने पर्व पनि हो । दसैँमा पूजापाठ, जात्रा, मेला आयोजना गरी चङ्गा उडाई पिङ खेली मनोरञ्जन पनि गर्ने गरिन्छ । 

नेपालीको महान् चाड दसैँ मातृशक्तिको उपासनाको दिव्य पर्व हो । यस अवसरमा समस्त सृष्टिमा उनै मातृशक्ति कण–कणमा व्याप्त हुनुभएको पाइन्छ । मातृशक्ति नै सृष्टि जीवको मूल आधार हुनुहुन्छ । नवरात्रिका दिव्य नौ दिन समस्तमा जगदम्बा दुर्गाको शक्ति व्याप्त भइरहने हुनाले यस अवसरमा गरिएका आराधना, उपासना एवं भक्ति अत्यन्त तीव्र फल प्रदायक हुन्छन् । रात्रिको तात्पर्य हो– प्रकृति निस्तब्ध र शान्त हुनु । नवरात्रिको अत्यन्त दिव्य अवसरमा अनन्त शक्ति जगत् जननी भगवती दुर्गा; जो आफ्नो समस्त जीवको कल्याणका लागि आफ्ना अनन्य भक्तका लागि अभीष्ट फल प्रदान गर्नका लागि करुणामयी स्वरूपमा व्याप्त हुनुहुन्छ । यहाँ उनै माता दुर्गाको नौ स्वरूपका बारेमा छोटकरीमा उल्लेख गरिएको छ । 

शैलपुत्री 

आश्विन शुक्लपक्षको प्रतिपदाको दिनलाई घटस्थापनाको नामले चिनिन्छ । यस दिनमा घरघरमा लिपपोत अर्थात् शुद्ध र पवित्र गरी माटो, तामा अथवा पित्तलको कलश स्थापना गरिन्छ र जमरा राख्ने प्रचलन छ । यस दिनमा माता दुर्गाको पहिलो स्वरूप शैलपुत्री स्वरूपको पूजा गरिन्छ । हिमालय पर्वतको कठोर तपस्याका कारण उनै भक्तवत्सल आधाशक्तिले पुत्रीका रूपमा जन्म लिनुभएको थियो । वृषभमाथि आरूढ हुनुभएकी दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलपुष्प लिनुभएकी दिव्य ज्योति स्वरूप नै शैलपुत्रीको दिव्य स्वरूप हो । नवरात्रिको प्रथम दिन अर्थात् घटस्थापनाको दिन माता दुर्गाको यस शैलपुत्री स्वरूपको ध्यान, साधना र उपासनाबाट आफ्नो मनलाई मूल आधार चक्रमा स्थिर गरी योग साधनाको प्रारम्भ गर्ने गरिन्छ । संसारिक अर्थात् अज्ञानलाई जलाउने, भष्म गर्ने ज्ञानको ज्योतिस्वरूप नै शैलपुत्री हुनुहुन्छ । मानव हृदयमा स्थित प्रेम, स्नेह, मानवता र कोमलताकी स्वरूप अर्थात् प्रतीक नै शैलीपुत्री हुनुहुन्छ । 

ब्रह्मचारिणी 

आश्विन शुक्ल द्वितीयाको दिन माता दुर्गाको ब्रह्मचारिणी स्वरूपको आराधना, उपसना गर्ने गरिन्छ । भगवान् शिव प्राप्तिको उद्देश्यले गरिएको कठोर तपस्या स्वरूप नै ब्रह्मचारिणी हुनुहुन्छ । उहाँको कैयाैँ हजार वर्षसम्म तपस्या गर्नुभएको कुरा शास्त्रमा उल्लेख गरेको पाइन्छ । ब्रह्मचारिणीकै अर्काे नाम अर्पणा र उमा पनि हो । 

दाहिने हातमा जप माला, देब्रे हातमा कमण्डलु लिनुभएकी दिव्य एवं अलौकिक पूर्ण ज्योतिर्मय स्वरूप नै माता दुर्गाको ब्रह्मचारिणी स्वरूप हो । मानव जीवनमा निःस्पृह भाव नै ब्रह्मचारिणीको उपासना हो । आत्मासुख आत्मतìव साक्षात्कारका लागि तपस्या जरुरी छ । ऊ माननीय उत्तम गुणहरूद्वारा भरिपूर्ण बन्दछ । संयम र पवित्रता अनुभव गर्न सक्षम बन्दछ । यस दिन साधकले मनलाई स्वाधिष्ठान चक्रमा स्थिर गरी साधना गर्दछन् । 

चन्द्रघण्टा 

नवरात्रिको तेस्रो दिनलाई चन्द्रघण्टा भनिन्छ र यस दिन माता दुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना गर्ने गरिन्छ । शिरमा घन्टा आकारको अर्धचन्द्र भएकाले चन्द्रघण्टा नामबाट विभूषित हुनुभयो । दस हातमा खड्ग, गदा, त्रिशूल, वाण, कमल, कमण्डलु तथा वरदहस्त धारण गरी बाघमाथि आरूढ अत्यन्त दिव्य स्वरूप नै माता दुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टा हो । चन्द्रमा मनको स्वामी र घण्टलाई नादको प्रतीक मानिन्छ । यस स्वरूपको साधन ध्यान गर्नाले मन र वाणी संयम भई अनाहत नादको ध्वनि सुन्न सकिन्छ । उहाँको यस सौम्य तथा साविक स्वरूपको ध्यानले साधकलाई सुख र समृद्धि, मान, प्रतिष्ठा, धन, पद प्राप्ति हुन्छ । सिंहसमान पराक्रमी, निर्भय र विनम्रता जस्ता गुणका विकास हुन्छन् । यस दिन साधक आध्यात्मिक उच्चता प्राप्तिहेतु मनलाई मणिपुर चक्रमा स्थिर गरी ध्यान गर्ने गर्दछन् । 

कुष्माण्डा 

नवरात्रिको चौथो दिन माता दुर्गाको चौथो स्वरूप कुष्माण्डाको पूजा प्रार्थना गरी मनाउने गरिन्छ । सृष्टिपूर्व जब ब्रह्माण्ड नै अन्धकारमय थियो, त्यस समय ती आधाशक्तिले आफ्नो मन्द मुस्कानद्वारा ब्रह्माण्डको सृष्टि गर्नुभएकीले कुष्माण्डा नामबाट विख्यात हुनुभयो । उहाँ सृष्टिकी आदिस्वरूपमा आदिशक्ति हुनुहुन्छ । सूर्य मण्डलको भित्री लोक उहाँको निवासस्थान मानिन्छ । समस्त प्राणीमा अवस्थित तेजलाई उहाँको छायाको तेज भनिन्छ । 

स्कन्दमाता 

नवरात्रिको पाँचौँ दिन स्कन्दमाताको पूजा, प्रार्थना गरिन्छ । दुर्गा माताको पाँचाैँ स्वरूप स्कन्दमाता हो । भगवतीको शक्तिद्वारा स्कन्द अर्थात् सनतकुमारको प्रादुर्भाव भएकाले उहाँको मातृस्वरूपमा स्कन्दमाता अविर्भूत हुनुभएकाले भक्तका लागि अत्यन्त करुणामयी एवं भक्तवत्सलका रूपमा विराजमान हुनुहुन्छ । चार भुजामध्ये एक हातले स्कन्दलाई काखमा राख्नुभएको छ भने अरू भुजामा क्रमशः वरद मुद्रा, कमलपुष्प सुशोभित छन् । विशुद्ध चक्रमा मनलाई स्थिर गरी उहाँको यस स्वरूपलाई ध्यान गर्नाले साधकका समस्त बाह्य क्रिया एवं चित्रवृत्तिहरू निवृत्ति भई विशुद्ध चैतन्य स्वरूपतिर उन्मुख बन्दछ । 

कात्यायनी 

नवरात्रिको छैटौँ दिन नवदुर्गामध्ये छैटौँ शक्तिस्वरूप कात्यायनी देवीको पूजा, आराधना गर्ने गरिन्छ । पौराणिक कथा अनुसार कात्यायनी ऋषिले आद्यशक्ति जगदम्बालाई पुत्रीका रूपमा प्राप्त गर्ने इच्छाले कठोर तपस्या गर्नुभएको थियो । उनै आद्यशक्ति देवताहरूका कार्यसिद्धिका लागि महर्षि कात्यायनी आश्रममा कन्याका रूपमा अविर्भूत हुनुभएकीले कात्यायनी नामबाट विख्यात हुनुभएको उल्लेख गरेको पाइन्छ । व्रजका गोपीहरूले श्रीकृष्ण प्राप्तिका लागि कालिन्दी नदीको किनारमा उहाँकै तपस्या एवं पूजा आराधना गरेकाले व्रजमण्डली अधिष्ठात्री देवीका रूपमा समेत प्रतिष्ठित हुनुहुन्छ । 

कालरात्रि 

नवरात्रिको साताैँ दिन जसलाई फूलपातीको नामबाट समेत सम्बोधन गरिएको पाइन्छ । विशेष गरी यस दिन धुमधामसँग मनाउने गरिन्छ । नवदुर्गा पूजाका लागि नौ जातका वनस्पतिद्वारा पूजा गरिने अर्थात् भित्र्याउने गरिन्छ । नौ जातका वनस्पतिमा (धानको बोट, केराको बोट/पात, अदुवा, हलेदो, जयन्ती फूल, अशोक, बेल, दारिम तथा कर्कलो) चढाउने गरिन्छ । यसै दिन गोरखको माता गोरखालीको दरबारबाट फूलपाती ल्याई काठमाडौँको हनुमानढोकाको दरबारमा भित्र्याउने चलन रहिआएको छ । 

महागौरी 

नवरात्रिका आठौँ दिनमध्ये अष्टमी तिथि महत्वपूर्ण मानिन्छ । यस दिन विभिन्न देवीका मन्दिरमा विशेष रूपले पूजा अर्चना एवं साधना गर्ने गरिन्छ । शक्ति उपासकका लागि यो तिथिको विशेष महìव छ । कालरात्रिको भयङ्कर नृत्यमय काली स्वरूप त्याग गरी सौम्य र शान्त स्वरूप धारण गरी भगवान् शिवमा समाहित हुनुभएको दिव्य स्वरूप नै महागौरी हो । उहाँको चरणकमलमा मन स्थिर गरी एकनिष्ठ भावले ध्यान साधना गर्नाले साधक जीवनका समस्त प्रकारका कल्मष हट्छन् । जन्म जन्मौँका पाप कर्म पखाली जीवनमा शान्ति, एकाग्रता एवं संयमित प्राप्ति हुन्छ । 

सिद्धिदात्री

नवरात्रिमध्ये अन्तिम र सर्वाधिक महत्वको तिथि हो– नवमी । यस दिन देवीका मन्दिरमा विशेष रूपले पूजा, आराधना एवं उपासना गरिन्छ । समस्त प्रकारको सिद्धि प्रदान गर्ने हुनुभएकाले उहाँ सिद्धिदात्रीको नामबाट प्रख्यात हुनुभयो । उहाँले भक्त साधकलाई आठ प्रकारका सिद्धि प्रदान गर्नुहुन्छ । ती आठ प्रकारका सिद्धि अणिमा, महिमा, गरिमा, लधिमा, प्राप्ति, प्रकाम्य, ईशित्व र वाशित्व हुन् । 

कमलपुष्पमा विराजित, सिंहवाहिनी सङ्ख, चक्र, गदा एवं कलपुष्पयुक्त चतुर्भुजावाली देव दानव, गन्धर्व आदिद्वारा शोभित दिव्य एवं अलौकिक स्वरूप नै जगदम्बा सिद्धिदात्रीको स्वरूप हो । उहाँको यस स्वरूपको ध्यान, साधनाको प्रभावद्वारा साधकले लौकिक एवं पार लौकिक समस्त प्रकारका सिद्धिशक्ति प्राप्त गर्न सक्दछ । यसरी नवरात्रिको नौ दिनसम्म माता जगदम्बा दुर्गाको नौ स्वरूपको ध्यान, साधना, उपासना गरी (दसाैँ दिन) विजया दशमीका दिन उहाँको प्रसाद स्वरूपमा श्रद्धेयजनबाट टीका, जमरा लगाई आशीर्वाद लिने गरिन्छ । त्यसैले दसैँ वास्तवमा घरपरिवारमा रमाइलो गर्ने, खानेलाउने पर्वका रूपमा भन्दा पनि शक्ति उपासना गर्ने पर्वका रूपमा मनाउनु पर्दछ । आद्यशक्ति जगत्जननीको कृपा प्राप्ति गर्नु नै जीवनको मुख्य उद्देश्य हुनु पर्दछ । जगत्जननी भक्तवत्सल जगददम्बाले सबैलाई सद्बुद्धि प्रदान दिने कुरामा विश्वास गरेर बडादशैँको प्रसाद र आशर्वाद ग्रहण गर्नु सबैका लागि हितकर हुन्छ ।

   

Author

ब्रह्मदेव महतो