पर्वत समाचारदाता
पर्वत, असोज २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विदेशमा बस्ने नेपालीसँग साझेदारीमा विकास निर्माणका काम गर्न गण्डकी प्रदेश तयार रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनको जलजला गाउँपालिका–३, मल्लाजमा उद्घाटन गर्दै उहाँले विदेशमा बसेर नेपालमा लगानी गर्न चाहनेहरूसँग सहकार्यमा परियोजना सञ्चालन गर्न आह्वान गर्नुभयो।
“विदेशमा सिकेको सिप र कमाइलाई नेपालमा लगानी गरेर नेपालमै रोजगारीका अवसर बढाउनुहोस्,” पाण्डेले भन्नुभयो, “यसका लागि गण्डकी प्रदेश सरकार सहकार्य गर्न तयार छ ।”
उहाँले विदेशमा बस्ने नेपालीले होटल, पर्यटन र उत्पादनमा लगानी गर्नेहरूसँग सहकार्यका लागि नियम कानुन सहज बनाएर सहकार्य गर्न गण्डकी प्रदेशले बजेटसमेत विनियोजन गरेको बताउनुभयो ।
उहाँले अहिले देशमा बसेर केही हुँदैन भन्ने भाष्यलाई चिर्न पनि सबैले देशमै लगानी गरेर रोजगारी बढाउने काम गर्नुपर्नेमा जोड दिनुभयो । विदेशमा युवा पलायनले नेपालमा केही वर्षपछि झनै सङ्कट ल्याउने बताउँदै विदेश पलायन रोक्न आर्थिक उपार्जन गाउँमै गर्ने वातावरण गराउनका लागि विदेशमा कमाएको रकम नेपालमा लगानी गनुपर्नेमा जोड दिनुभयो । “अहिले दुई कारणले नेपाली युवा विदेश पलायन भएका छन्,” उहाँले भन्नुभयो, “एकथरी बाध्यताले अर्कोथरी नेपालको सम्पत्तिसमेत विदेशमा लगेर लगानी गर्ने गरी बाहिरिएका छन् । यसले देशको पुँजीसमेत बाहिरिएको छ पुँजी पलायन रोक्न सहकार्यमा काम गरौँ ।”
मुख्यमन्त्री पाण्डेले विदेश पलायन हुँदा गाउँ खाली हुने र जमिनसमेत बाँझो हुने भएकाले केही वर्षपछि उत्पादनसमेत अझै घट्दै जाने भएका कारण देश परनिर्भर हुने बताउनुभयो । उहाँले गाउँमै बसेर बाँझो जमिन उपयोग गर्ने युवालाई आयआर्जनका लागि सरकारले उत्पादनमा आधारित अनुदान दिने व्यवस्था गरेकाले नेपालमा लगानी गर्ने वातावरण गराउन विदेशमा बस्ने नेपालीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशी, कल्पना चापागाईं, प्रदेश सभाका सदस्य भक्त कुँवर, स्थानीय तहका प्रमुख उपप्रमुखलगायतको सहभागिता रहेको थियो । अधिवेशनमा विश्वभर छरिएर रहेका करिब तीन सय पर्वतका प्रवासी प्रतिनिधिहरूको सहभागिता रहेको छ । अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमितिसमेत चयन गर्ने अध्यक्ष झलक केसीले जानकारी दिनुभयो।