• ११ मंसिर २०८१, मङ्गलबार

मधेश प्रदेशका धार्मिक शक्तिपीठ धाउन थाले भक्तजन

blog

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, असोज २९ गते । बडादसैँ सुरु भएसँगै भक्तजनहरू विभिन्न शक्तिपीठ धाउन थालेका छन् । नवरात्रभर सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, राजदेवी मन्दिर, बाराको गढीमाई मन्दिर, पर्साको गहवामाई मन्दिरमा सबैभन्दा बढी भिड लाग्छ । धेरैले दिनभरि नै उपवास तथा निराहार बसेर नवरात्रभर पूजापाठ गर्छन् । कोही अरवा मात्र खाएर नवरात्रमा पूजापाठ गर्छन् । 

छिन्नमस्ता भगवती

राजविराज सदरमुकामदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता भगवती मन्दिरमा निशा र तान्त्रिक दुवै विधिबाट पूजा आराधना गर्ने गरिन्छ । वर्षका चार वटै नवरात्रिमा ५६ प्रकारका परिकार बनाएर मध्यरातमा नशा पूजा गरिन्छ । पूजामा विध्नबाधा उत्पन्न हुन थालेपछि तान्त्रिकलाई बोलाएर तन्त्रिक विधिद्वारा पनि पूजा गरी भगवतीको सिंहासनमा एउटा जन्तर राखी बडादसैँको महाअष्टमीको राति विशेष पूजा गरिन्छ । 

मन्दिरमा नेपाल र छिमेकी भारतका हिन्दु धर्मावलम्बीसँगै मुस्लिम र अन्य धर्मावलम्बीबाट पनि दृढ इच्छाशक्ति एवं विश्वासका साथ मन्दिरभित्र वा बाहिर बसी ‘फुलहैस’ गरिन्छ । सन्तान प्राप्ति, सुयोग्य विवाह, मुद्दा मामिलामा विजयी प्राप्ति आदिका लागि ‘फुलहैस’ गराउने गरेको पीठाधीश महाकान्त ठाकुर बताउनुहुन्छ ।

मनोकामना पूरा भएका भक्तजनले भगवती दुर्गालाई भोजन गराउने मान्यताका साथ पाँच कुमारीलार्ई भोजन गराउने र उनीहरूको जुठो प्रसादका रूपमा ग्रहण गर्ने चलन छ । यहाँको मन्दिरमा पशुबलि दिँदा निस्केको रगतमा झिँगा बस्दैन, कपडामा दाग लाग्दैन, पानीमा मिसिँदा रातो हुँदैन भन्ने विश्वास छ । मन्दिरमा चढाइने सामग्री र बलिको जनावर पवित्र हुनुपर्ने मान्यता रहेको पीठाधीश ठाकुरको भनाइ छ ।

करिब १३० वर्षअघि गुफाबाट भगवतीलाई स्थानीय च्याखुरी नानी र चुनीलाल ठाकुरले सफा गरी भिक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए । मन्दिरभित्र मूल देवीका रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । मूर्तिको पाउतिर 

राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुङ्गामा कुँदिएको छ । मूल मूर्तिको देबे्रपट्टि क्रमशः दक्षिणकाली, महषिमर्दिनी र दाहिनेतिर क्रमशः चामुण्डा, भैरवी र कालो रङको प्रस्तर मूर्ति स्थापना गरिएको छ । ती मूर्तिलाई पञ्चभगिनी भनिन्छ । 

कङ्कालिनी भगवती मन्दिर

सप्तरीको भारदहस्थित प्रसिद्ध शक्तिपीठमध्ये कङ्कालिनी भगवती मन्दिरमा नवमीका दिन करिब हजारको सङ्ख्यामा राँगाको बलि चढाइन्छ । कङ्कालिनी भगवतीमा निःसन्तानहरूले सन्तानका लागि, जटिल रोगबाट पीडितले स्वास्थ्यलाभका लागि, जीवन सङ्कटमा परेकाहरूले जीवन रक्षाका लागि, पेसा र रोजगारी सङ्कटमा परेकाहरूले त्यसमा सफलताका लागि वर्षौंदेखि यहाँ विभिन्न किसिमका भाकल गर्ने गर्छन् । भाकल पूरा भएपछि महानवमीका दिन राँगाका साथै बोका र परेवाको पनि बलि दिइन्छ । नेपालमै गढीमाईपछि ठुलो सङ्ख्यामा राँगाको बलि प्रदान गरिने शक्तिपीठका रूपमा कङ्कालिनी भगवतीलाई मानिन्छ ।

राजदेवी मन्दिर 

राजविराज नगरपालिका–१ मा रहेको राजदेवी माताको मन्दिर तत्कालीन सेनवंशी राजाहरूकी इष्टदेवी मानिन्छ । त्यहाँ कुनै प्रतिमा नभई शिलालाई पुज्ने गरिन्थ्यो । राजदेवी माताको मन्दिरमा सप्तमीका दिन नेपाली सेनाको एक टोलीले फूलपाती भित्र्याउने गर्छ । यहाँ पनि सयौँको सङ्ख्यामा पशु बलि प्रदान गरिन्छ । नवरात्रिभर राजविराजका भगवती मन्दिर, डाक्नेश्वरीलगायतका मन्दिरमा भक्तजनको ठुलो घुइँचो लाग्छ ।

जनकपुरको प्राचीन राजदेवी 

जनकपुरधामको सबैभन्दा प्राचीन राजदेवी मन्दिरलाई मिथिलाका जनकवंशी राजाहरूको कुलदेवी मानिन्छ । नवरात्रभर यहाँ हजारौँ दर्शनार्थीको घुइँचो लाग्छ । अष्टमीका दिन मात्रै बलि दिनेको घुइँचो लाग्छ । यसबाहेक सोनामाई, पिडरियामाई, दक्षिणकाली,  सोनासती मन्दिर र नगरका विभिन्न चोकमा दुर्गाको प्रतिमा बनाएर पूजापाठ गरिन्छ ।

गहवामाई मन्दिर

वीरगन्जको गहवामाई भगवती मन्दिरमा पर्सा, बारा, रौतहटलगायत भारतको विहार राज्यबाट समेत दर्शनार्थी आउने गरेका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीनाप्रसाद गुप्ता बताउनुहुन्छ । ठुलो भिड रहने यस मन्दिरमा भाकल गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । 

गढीमाईमा दसैँमा चढ्दैन बलि

प्रसिद्ध पञ्चवर्षीय मेला लाग्ने नेपालकै सबैभन्दा धेरै पशुबलि दिइने बाराको महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित गढीमाईमा अन्य समयमा पशु बलि दिइने गरे पनि दसैँको समयमा भने बलि दिइँदैन । गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ । यहाँ भाकल पूरा गराउन सर्वसाधारणले मुसा, परेवा, बोका, राँगा र खरायो गरी पाँच जन्तुलाई बलिका रूपमा चढाउँछन् । मन्दिरमा तान्त्रिक दुखा धामीले आफ्नो शरीरका पाँच स्थानबाट रगत निकालेर चढाएपछि बलि खुलेको बताइन्छ । धामीले आफ्नो शरीरको निधार, कान, जिब्रो, दाहिने छाती, दाहिने तिघ्रा गरी पाँच अङ्गबाट रगत निकालेर चढाएपछि बलि सुरु भएको थियो । मन्दिरका पुजारी मङ्गल चौधरीका अनुसार पाँच वर्षको अन्तरमा मङ्सिरको सप्तमी रात्रिमा तान्त्रिक पूजा गरेपछि बत्ती बल्ने अनि बत्ती बलेपछि पञ्चबलि दिने गरिन्छ । त्यति बेला बलि दिन नभ्याएका भाकल भएका भक्तजनले माघेसङ्क्रान्तिका दिन बलि दिने परम्परा छ । अन्य समयमा बलि दिन पाइँदैन ।  

रौतहटको राजदेवी र दुर्गा भगवती

रौतहटको राजदेवी र दुर्गा भगवती गाउँपालिकास्थित मत्सरीको भगवती मन्दिरलाई विशेष मानिन्छ । रौतहटको सदरमुकाम गौरदेखि करिब तीन किलोमिटरपूर्व बागमती नदीको छेउमा रहेको राजदेवी मन्दिर मल्लकालीन राजा प्रताप मल्लले सन् १६४९ मा स्थापना गरेको अभिलेख रहेको वडाध्यक्ष विश्वनाथ साहले बताउनुभयो । मन्दिरपरिसरमा श्रद्धालु भक्तजनले चढाएका घन्टहरूमध्ये विसं १९०२ असोज २६ गते तत्कालीन लेफ्टिनेन्ट मानध्वज कार्कीले चढाउनुभएको घन्ट अझै पनि छ । 

यस्तै मत्सरी भगवती मन्दिर एक सय वर्ष पुरानो मानिन्छ । ती दुवै मन्दिरमा नवरात्रिभर स्थानीय तथा भारतीय भक्तजनको भिड लाग्ने गर्छ । नवरात्रिको पहिलो दिन र सप्तमीको राति मन्दिरमा निशा पूजा गरिन्छ ।

(यादवराज पुरी र दीपकप्रसाद गौतमको सहयोगबाट)