• ६ जेठ २०८१, आइतबार

नेता निधि र शाहीद्वारा मानसरोवर कैलाशको दूरदर्शन

blog

लाप्चाबाट दूरदर्शन गर्दै काँग्रेस नेता निधि र शाही लगायत टोली । तस्बिर सौजन्य : बसन्त रोकाया

राजन रावत

हुम्ला, असोज २८ गते । नेपाली काँग्रेसका नेताद्वय बिमलेन्द्र निधि र जीवनबहादुर शाहीले नेपाली भुमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्नुभएको छ । पाँच हजार दुईसय मिटर अग्लो स्थान नाम्खा गाउँपालिका –६ को लिमी क्षेत्रको लाप्चामा पैदल मार्गबाट पुगेर दर्शन गर्नुभएको हो । 

काँग्रेस नेता निधिको नेतृत्वमा ३५ जना सदस्यले नेपाली भुमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने कार्य गरेको काँग्रेस हुम्लाका पार्टी उपसभापति बसन्त रोकायाले बताउनुभयो । ताक्चीबाट बिहानै गाडीबाट गएको टोली बिहान १० बजे दर्शन गरेको हो । 

मानसरोवर कैलाशको दर्शन गरेर फर्केपछि नेता निधिले पर्यटकीय सम्भावना बढी भएको लाप्चा क्षेत्रको प्रबर्धन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँसहितको टोली नेपाली भुमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न तीन दिन अगाडि सिमकोटबाट त्यसतर्फ लागेको थियो । 

नेता निधि र काँग्रेस कार्य सम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका पुर्ब मुख्यमन्त्री शाही पनि सँगै रहनुभएको छ । लाप्चा नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीमा पर्छ । सो क्षेत्र नेपाल र चीनको सीमा क्षेत्र पनि हो । 

टोलीमा निधिपत्नी अनामिका निधि, सांसद सीताकुमारी राना, नेपाल ट्रेड युनियन काँग्रेसका पुर्ब केन्द्रीय अध्यक्ष खिलानाथ दाहाल, काँग्रेस कर्णाली प्रदेशका सदस्य जयपति रोकाया, काँग्रेस सभापति मोहनबिक्रम सिंह, उपसभापतिद्वय कैलाश भण्डारी र रोकाया, नेबिसंघ हुम्ला कर्णाली सम्पर्क समितिका अध्यक्ष अंगबहादुर सिंह लगायतको सहभागिता छ । नेता निधिको टोली नारा लेक हुँदै हिल्सासम्म पुग्ने कार्यक्रम छ ।