• ७ जेठ २०८१, सोमबार

भूकम्पपीडित परिवारलाई राहत वितरण

blog

भुकम्प पीडितलाई राहत वितरण गर्दै । तस्बिर सौजन्य : लायन्स क्लब

सिराज खान 

नेपालगन्ज, असोज २८ गते । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनले बझाङमा गएको भूकम्पपीडित भएका ३१० परिवारलाई विभिन्न राहत सामग्री वितरण गरेको छ । 

बझाङको दुर्गाथली गाउँपालिकाको समन्वयमा सो राहत सामग्री लिएर नेपालगन्जबाट बझाङमै पुगेर वितरण गरिएको लायन कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । 

उहाँले बझाङको दुर्गाथली गाउँपालिकाको समन्वय र एलसिआइएफ इमरजेन्सी ग्रान्टअन्तर्गत गाउँपालिकाका ३१० घर परिवारलाई चामल, दाल, तेल, नुन, झुल, तन्ना र पिफोम वितरण गरिएको बताउनुभयो । 

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका डिष्ट्रिक्ट गभर्नर लायन मुकुट ढकालको नेतृत्वमा नेपालगन्जबाट त्यहाँ पुगेको टोलीले दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष जनकबहादुर दौल्यालको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा पालिकाका ७ वटै वडाका भूकम्पपीडितलाई राहत वितरण गरेको थियो । 

राहत वितरण कार्यक्रममा डिष्ट्रिक्ट ट्रेजरर लायन तेजप्रसाद अधिकारी, एओजी लायन कृष्णप्रसाद श्रेष्ठ, कमल चौधरी, वडा अध्यक्षहरू, स्थानीय राजनीतिक दल र स्थानीय प्रहरीका प्रतिनिधिको सहभागिता रहेको थियो । 

गत भदौ १६ गते बझाङमा गएको भूकम्पबाट ठुलो सङ्ख्यामा सर्वसाधारण पीडित भएका थिए । त्यहाँ सोही दिन २ पटक गएको भूकम्पले घरहरू भत्किदा ठुलो मात्रामा क्षति भएको थियो ।