• ६ जेठ २०८१, आइतबार

बिरामीलाई बोक्नु पर्ने बाध्यता

blog

खार्पुनाथ गाउँपालिका–५ को खर्पेलगाउँबाट बिरामीलाई बोकेर उपचारका लागि लगिँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असोज २७ गते ।
 हिमाली जिल्ला हुम्लाका गाउँ–गाउँबाट मानिस बिरामी हुँदा बोकेर स्वास्थ्य संस्था  पुर्‍याउनु पर्ने अवस्था विद्यमान रहेको पाइएको छ । जिल्ला भित्रका गाउँहरू कर्णाली कोरिडोरसँग लिङ्क रोड नजोडिएका कारण बिरामीलाई बोक्नु पर्ने अवस्था छ ।

खार्पुनाथ गाउँपालिका–५ को खर्पेलगाउँका स्थानीय जनक शाहीले घरमा भाउजू बिरामी हुँदा दुई घण्टा बोकेर गाउँपालिका केन्द्र याङ्चु बजारमा रहेको सामुदायिक अस्पतालमा लग्नु परेको बताउनुभयो । उहाँले गाउँमा सडक नजोडिएका कारण बिरामीलाई मानिसले बोकेर स्वास्थ्य संस्थामा लैजानुको विकल्प नभएको बताउनुभयो ।

यता चङ्खेली गाउँपालिका–५ को नेक्पा गाउँका भई बहादुर तामाङले रुखबाट लडेर घाइते भएका बिरामीलाई चार जना युवाले मिलेर आठ घण्टा बोकेर हिँड्दै गाउँपालिका केन्द्र पिप्लाङमा रहेको स्वास्थ्य चौकीमा लैजानु परेको बताउनुभयो । सो गाउँका लागि जोड्न सडक निर्माण कार्य भइरहेको  भए पनि सडक निर्माण कार्य पूरा नहुँदा बिरामी हुँदा बोकेर स्वास्थ्य संस्थामा लैजानुको विकल्प देखिएको छैन ।

उहाँले बिरामीलाई उपचार कि त धामी झाँक्रीकोमा लैजानु पर्ने वा जडीबुटीको औषधि गर्नु पर्‍यो होइन भने बोकेर स्वास्थ्य संस्थामा लैजानै पर्ने अवस्था रहेको जानकारी दिनुभयो । यसवर्ष मात्र उक्त गाउँबाट सात जना बिरामी बोकेर गाउँपालिका केन्द्रसम्म लैजानु परेको थियो । यसैगरी, ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँका जगवीर बुढाले आमा बिरामी हुँदा एक दिन पैदल बोकेर गाउँपालिका केन्द्र छप्रेलामा रहेको मैला स्वास्थ्य चौकीमा उपचार गर्न लगेको बताउनुभयो ।

मासपुर गाउँका लागि हालसम्म सडक निर्माण कार्य अगाडि बढ्न सकेको छैन । जिल्लाका सात वटा गाउँपालिकाका एक सयभन्दा बढी गाउँमा मानिस बिरामी पर्दा बोकेर स्वास्थ्य संस्थामा लैजानु पर्ने बाध्यता छ ।